पोखरा
चलचित्र मनसराले प्रचारमा नौलो शैलीको प्रयोग गरेको छ । शनिबार पोखरामा मनसराको प्रचारप्रसार गर्न ‘रंगमञ्चमा काव्य श्रृंखला’ सँगै ‘कविता वाचन’ गरिएको छ ।
पोखरा थिएटर र मुक्तक मञ्च केन्द्रिय समिति पोखराको आयोजनामा ‘रंगमञ्चमा काव्य श्रृंखला’ कार्यक्रम भएको हो । जहाँ मनसराका निर्देशक उपेन्द्र सुब्बाको कविता संग्रह ‘खोलाको गीत’ का ५ वटा कवितालाई दृश्यमा उतारिएको थियो ।
मानवीय संवेदनलाई गहन आत्मवोधका साथ प्रस्तुत गरिएको खोलाको गीतका समावेश कवितालाई दृश्यमा ढाल्न नारायण न्यौैपानेले निर्देशन गरेका हुन् । कविताको पात्रलाई दृश्यमा देखाउँदै वाचन गर्दा दर्शक उत्सुक बनेर हेरिरहे ।
नारायण न्यौपानेसँगै रमेशबाबु तिम्लिसिना, धनकाजी श्रेष्ठ, रोशनी रामदाम, शैल्ताज कुवँर, सुशन पौडेल, आबिरा अधिकारीकोे अभिनय रहेको छ ।
पोखरा थिएटरमा दोस्रो पटक रंगमञ्चमा काव्य श्रृंखला कार्यक्रम गरिएको हो । यसअगाडि विश्व रंगमञ्च दिवसको अवसर पारेर राजु स्याङतानको तीन वटा कविता मञ्चन गरिएको थियो ।
रंगमञ्चमा काव्य श्रृंखललाई निरन्तरता दिने पोखरा थिएटरका कार्यकारी निर्देशक परिवर्तनले जानकारी दिए । उनका अनुसार कविता नाटक मञ्चनको तयारी भइरहेको छ ।
बैशाख तेस्रो सातादेखि नियमित सो देखाउने गरेर कविता नाटक मञ्चनको तयारीमा जुटेको उनले बताए ।
पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा भएको कार्यक्रममा मनसार टिमले समेत कविता वाचन गरे ।
निर्देशक उपेन्द्र सुब्बाले ‘ढुंगाको यात्रा’ बाट कविता वाचनको सुरुवात गरे ।
कलाकार मेनुका प्रधान र प्रविण खतिवडाले पनि उपेन्द्रकै कविता सुनाएर साथ दिए ।
कलाकार मिरुना मगरले आफ्नी आमा सशी थापा सुब्बाले लेखेको कविता सुनाउँदा प्रविण खतिवडाले आफैंले लेखेको कविता वाचन गर्न भ्याए । कविता वाचनसँगै मनसरा हेर्न दर्शकलाई निम्तो बाँडेका छन् ।
चलचित्र बनाएपछि दर्शक डाँक्नलाई प्रचारप्रसार गर्नैपर्ने निर्देशक सुब्बाको भनाइ छ । उनले कलासँग साहित्य जोडेर प्रचारको नयाँ शैली अपनाउन खोजेको बताए ।
प्रकाशित मिति २०८१ वैशाख ८ गते शनिबार ०७:५०




