डम्मर बुढा मगर
बागलुङ ।
बागलुङका दुई पालिकामा ३० घरबास (होम–स्टे) संचालन गरिने भएको छ ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा पर्यटन प्रवद्र्धनका लागि घरबास संचालन गरिने भएको हो ।
दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा बिवाइसी बागलुङको साझेदारी घरबास संचालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए ।
युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ ।
पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा संचालित पाँच घरबास संचालकलाई दुई लाख ८० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको अर्यालले बताए ।
ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० वटा घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।
घरबासमा आवश्यक पर्ने लत्ता कपडादेखि बिस्तरा, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ ।
संचालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको उनले बताए ।
यस वर्षको पौष १५ सम्म १७ वटा र त्यसपछि १३ वटा घरबास संचालनमा ल्याउने अर्यालले जानकारी दिए । पहिलो चरणमा ८५ लाख लगानी गर्न थालेको उनले बताए ।
ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रर्वद्धनका हुनुका साथै धेरै युवाले रोजगार पाउने बताए ।
ढोरपाटन र निसीखोलामा थुप्रै संभावना हुँदा हुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न संघ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ वैशाख १० गते सोमबार ११:१५




