२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नवलपुर र पर्वत च्याम्पियन

गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नवलपुर र पर्वत च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १२ गते बुधबार ०६:०६

बुधबार भएको फाइलन खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत च्याम्पियन बनेका हुन् ।

पोखरा
गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा नवलपुर र पर्वत च्याम्पियन बनेका छन् । बुधबार भएको फाइलन खेलमा पुरुषतर्फ स्याङ्जालाई हराउँदै नवलपुर र महिलातर्फ म्याग्दीलाई हराउँदै पर्वत च्याम्पियन बनेका हुन् ।

पुरुषतर्फ नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गरेको हो । पहिलो २ सेट २५–२१ र २५–१७ ले गुमाएको नवलपुरले पछिल्ला ३ सेटमा पुनरागम गर्दै उपाधि चुमेको हो । नवलपुरले तेस्रो सेट २५–१६, चौथो सेट २५–२१ र पाचौं १५–११ ले आफ्नो पक्षमा पा¥यो ।

महिलातर्फ पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गरेको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको म्याग्दीले दोस्रो सेट २५–२३ ले पर्वतलाई सुम्पियो । पुनः तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको म्याग्दीले अन्तिम दुई सेट २५–१४ र १६–१४ ले गुमाउन पुग्यो ।

च्याम्यिपन बनेका नवलपुर र पर्वतले एकएक लाख हात पारे । उपविजेता बनेका स्याङ्जा र म्याग्दीले ७५–७५ हजारमा चित्त बुझाउनुप¥यो । प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी र महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषतर्फ नवलपुरका सञ्जुविक्रम शाह उत्कृष्ट स्पाइकर बन्दा नवलपुरकै दानबहादुर गाहा उत्कृष्ट सेटर, म्याग्दीका देवेन्द्र बुढा उत्कृष्ट सर्भर, नवलपुरका सरोज बर्देवा उत्कृष्ट ब्लकर, स्याङ्जाका राजन दर्लामी उत्कृष्ट डिफेन्डर र नवलपुरका रामनारायण महतो उत्कृष्ट प्रशिक्षक बने ।

महिलातर्फ म्याग्दीकी रिञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी बिना फगामी उत्कृष्ट सेटर, स्याङ्जाकी सोइङ थापा उत्कृष्ट सर्भर, म्याग्दीकी मनिषा तिलिजा उत्कृष्ट ब्लकर, स्याङ्जाकी जायरा निसा उत्कृष्ट डिफेन्डर र पर्वतका जगदिश सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा सर्वाेत्कृष्ट हुने सबै खेलाडीले जनही नगद ५–५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

 

प्रकाशित मिति २०८१ वैशाख १२ गते बुधबार ०६:०६
हजुरको प्रतिक्रिया