युवराज पौडेल
स्याङ्जा ।
स्याङ्जा समाज जापान र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले मुटु रोगी पुतलीबजार नगरपालिका वडा नं. १४ निवासी चन्द्रबहादुर गायकलाई आर्थिक सहयोग गरेको छ ।
एक बर्ष अघि हृदयघात भई मुटुमा समस्या आई मनमोहन कार्डियोलोजी भास्कुलर काठमाण्डौंमा उपचाररत गायकलाई संयुक्त रुपमा १ लाख १६ हजार ५ सय रुपैयाँ नगद सहयोग प्रदान गरिएको हो ।
गायकलाई स्याङ्जा समाज जापानका उपाध्यक्ष पुतलीबजार १४ निवासी भुवन गिरीको संयोजकत्वमा जापानमा रहेका ४८ जना नेपालीबाट संकलित सहयोग रकम, संस्थाले १ लाख पाँच हजार र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले ११ हजार नगद सहयोग गरेको हो ।
नगद हस्तान्तरण गर्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापित समाजले विभन्न समयमा सहयोग गरेको बताए ।
अहिले जापान समाजको सक्रियतामा मुटुरोगी चन्द्रबहादुर गायकलाई नगद सहयोग उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पालिकासँगको सहकार्यमा दक्ष नेपालीको सीप, प्रविधि र प्राविधिकहरुको उपयोग र परिचालनमा समन्वय गर्नुपर्ने बताए ।
विदेशी अनुभव र सीपको उपयोग नेपाली भूमिमा गर्न र नेपालको उत्पादन विदेशमा बजारीकरणका लागि आगामी दिनमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार टुकराज अर्यालले समस्यामा परेकाहरुलाई हाल सम्म ८ करोड बढी रकम सहयोग गरेको जानकारी दिए ।
यसका साथै संस्थाले १ करोडको अक्षयकोष समेत स्थापना गरेकाले थप सहजीकरण भएको भन्दै उनले विदेशमा रहेका नेपालीहरुलाई संस्थासँग जोडिन अनुरोध गरे ।
प्रकाशित मिति २०८१ वैशाख १३ गते बिहीबार ११:१३




