पोखरा
पोखराको बाँस्कोटबाट स्वचालित पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१८ जामुनबोटका ३८ वर्षीय न्याकेट भनेर चिनिने नरबहादुर विकलाई बिहिबार विहान वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।
लेकसाइडमा निर्माणधिन घरमा शंकास्पद गतिविधि गरिरहेका उनलाई ९ एमएमको अटोमेटिक पेस्तोल र एक राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । नरबहादुर यो १४ औं पटक पक्राउ परेको उनले जानकारी दिए । शर्माका अनुसार डाँका चोरी र लागु औषध मुद्दामा फरार सूचीमा विक थिए । उनको साथबाट बागमती प्रदेश ०३३ प १६३३ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ ।
उनीमाथि यस अगाडि १३ वटा मुद्दा चलेको प्रहरीका रेकर्डमा छ । जेलबाट छुटे लगत्तै उनी फेरि अपराधिक गतिविधिमा संग्लन भएको खुलेको छ । सार्वजनिक अपराध, लागु औषध, चोरी, अभद्र व्यवहार र डाँका मुद्दामा पटक पटक पक्राउ पर्दैै छुटेको शर्माले बताए । पहिलो पटक २०६२ चैत ९ गते सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । त्यसपछि २०६५ चैत २६ गते पक्राउ परे ।
२०६६ मा दुई वटा मुद्दामा पक्राउ परेका उनी २०६७ सालमा तीन पटक पक्राउ परे । पछिल्लो पटक उनीविरुद्ध गएको कात्तिकमा चोरी तथा डाँका कसुरको मुद्दा चलेको थियो ।६० हजार रुपैयाँमा भारतबाट बन्दुक खरिद गरेर ल्याएका नरबहादुरले एकान्त ठाउँ, जंगलमा बसेर लुटपाटमा संग्लन थिए । बाइक चोरि गरेर भारतमा लगेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति २०८१ वैशाख १३ गते बिहीबार ०७:०१




