पोखरा
शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन च्याम्पियनसिप ट्रायथोलन हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना, गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको लेकसाइडमा च्याम्पियनसिप हुन लागेको हो ।
प्रतियोगिताको सबै तयारी पूरा भएको व्यवस्थापन कमिटी पोखराका संयोजक डिल्लीराज सुवेदी ‘शिशिर’ ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राविधिक र अफिसियल पोखरा आइसकेका छन् । शनिबार विहान ७ बजेदेखी च्याम्पियनसिप्प सुरु हुनेछ । ट्रायथोलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकिलङ र ५ किलोमिटर दौड हुनेछ ।
दौड गौरीघाटबाट सुरु भएर सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुने गरी रुट तय भएको छ । यी रुटमा प्रतियोगिता अवधिभर यातायात निषेध गरेको सुवेदीले बताए । च्याम्पियनसिपमा १७ देशका ३८ पुरुष र २४ महिला गरेर ६२ जना खेलाडी सहभागी हुँदैछन् ।
नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, जापान, भारत, लगायतका देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट महिला पुरुष ४र४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा वल्र्ड ट्रायथोलन संघका अध्यक्ष मारिसोल कासडो र महासचिव एन्टोनियो आरामानी आउनेछन् । प्रतियोगितामा पाँचौ स्थानसम्मका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने अनुमान छ । ४ हजार २०० अमेरिकी डलर पुरस्कारमा मात्रै खर्च हुनेछ ।
ट्रायथोलनको विजेताले ६३० अमेरिकी डलर प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो, चौंथो र पाँचौले क्रमशः ५२५, ४२०, ३१५, २१० डलर पुरस्कार पाउनेछन् ।
आइतबार दुवाथलन हुनेछ । शनिबारसम्म दुवाथलनका लागि नाम दर्ता गर्न पाउनेछन् । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।




