हरिकृष्ण गौतम
म्याग्दी ।
नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले म्याग्दीको सदरमुकाम बेनीबजारमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाएको छ ।
‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ १३५औँ विश्व मजदुर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्ने वक्ताले गणतन्त्र स्थापनामा मजदुरको योगदान भएपनि सुविधा थप र न्यूनतम आवश्यकता पूरा गर्न भने राज्यका निकाय चुकेको गुनासो गरेका थिए ।
दिवसको उद्घाटन गदैं जिफन्टका उपमहासचिव नरनाथ लुईटेलले मजदुरको पारिश्रमिक, सामाजिक सुरक्षा, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगर्ने लगायतका प्रतिबद्धताहरू पूरा नभएको बताए ।
नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी हेभी इक्यूपमेन्ट अपरेटर संघका अध्यक्ष देबेन्द्र चोखालले मुलुकको विकासका लागि मजदुरको योगदान अतुलनीय रहेकोले उनीहरुको हित र सुरक्षामा सबैले प्रतिबद्धता जनाउनु पर्नेमा जोड दिए ।
राज्यले पनि मजदुरको सुरक्षाको बारेमा सोच्नुपर्ने बताउँदै श्रमको मुल्य र तोकिएको समयमा पारिश्रमिक पाउने व्यवस्थाका लागि पनि राज्यले नीति बनाएर कार्यान्वयनमा पनि कडाइ गर्नुपर्ने तर्क समेत वक्ताहरुको थियो ।
औपचारीक कार्यक्रम भन्दा पहिला नौमती बाजा सहित बेनीको वीरेन्द्रचोकबाट सुरु भएको ¥यालीले मजदुर हितका विषयमा नारा लगाउँदै मंगलाघाट, न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइएको थियो ।
प्रकाशित मिति २०८१ वैशाख २० गते बिहीबार ०९:४०




