पोखरा ।
देशभर आगलागी र वन डढेलोको समस्या विकराल बन्दै गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ । ती मध्ये अधिकांश डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
गृह मन्त्रालयका अनुसार बितेको एक महिनामा ७४ जिल्लाका १३ सयभन्दा बढी ठाउँमा डढेलो र आगजनीका घटना भएका छन् ।
आगलागीमा परेर २५ जनाको ज्यान गएको छ भने ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन् ।
आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
डढेलो विज्ञका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् ।
मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्न विज्ञको सुझाव छ ।
यता धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतिको मृत्यु भएको छ ।
गएराति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
तत्काल ठूलो वर्षाको संभावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान छ ।
वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ ।
प्रकाशित मिति २०८१ वैशाख २० गते बिहीबार १०:१९




