सभामुखलाई संसद् बैठकमै कांग्रेसकाे कालोझण्डा
पाेखरा ।
गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।
आइतबार प्रदेशसभामा पेश भएकाे विश्वासको मतसम्बन्धी प्रस्तावकाे पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ । धारा १८६ वमाेजिम आवश्यक अवस्थामा आफूलाइ पनि मत हाल्न पाउने अधिकार सुरक्षित रहेको बताउँदै सभामुख धितालले मुख्यमन्त्री खगराज अधिकारीले पेश गरेकाे प्रस्ताव बहुमतले पारित भएकाे घाेषणा गरे ।
मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए ।
आफ्नो वचाउ गर्दै सभामुख धितालले नेपालकाे संविधानकाे धारा १८६ ले व्यवस्था गरे अनुसार प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएकाे जुनसुकै प्रस्तावमा उपस्थित भइ मतदान गर्न पाउने अधिकार सुरक्षित रहेकाे जिकिर गरे ।
संविधानको धारा १६८ (४) मा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । तर, ६० सदस्यीय गण्डकी सभामा बराबर नै नहुने र ३० नै बहुमत हुने सत्तारुढ दलहरुको तर्कअनुसार सभामुख प्रयोग भएर अधिकारीलाई विश्वासको मत दिलाएका हुन् ।
नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।
सभामुखले ३० लाई नै बहुमत मानेर विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि नेपाली कांग्रेसले नाराबाजी गरेका छन् । सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ ।
गण्डकीका सभामुखलाई कांग्रेसकाे कालोझण्डा
प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा देखाएको छ ।
सभामुखले ३० मतलाई बहुमत घोषणा गरेपछि कांग्रेसका सांसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका हुन् ।
सभामुख धितालले निर्णायक अवस्थामा आफूले पनि मत हाल्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सोही आधारमा सङ्ख्या ३० नै भएपनि बहुमत पुगेको जिकिरसहित मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
प्रकाशित मिति २०८१ वैशाख २३ गते आइतबार ०७:०७




