२०८३ असोज २५ गते आइतबार

पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता बने वर्ष उत्कृष्ट खेलाडी

पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता बने वर्ष उत्कृष्ट खेलाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २८ गते शुक्रबार ०७:५७

पोखरा आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा अर्जुन कुमाल र सुस्मिता थापा मगरले वर्षोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन् । शुक्रबार पोखरा सभागृहमा भएको कार्यक्रममा पुरुषतर्फ क्रिकेटका कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी...

पोखरा
आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा अर्जुन कुमाल र सुस्मिता थापा मगरले वर्षोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन् ।

शुक्रबार पोखरा सभागृहमा भएको कार्यक्रममा पुरुषतर्फ क्रिकेटका कुमाल र महिलातर्फ आइटिएफ टेक्वान्दोकी मगरले अवार्ड जितेका हुन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फको मनोनयनमा क्रिकेटका कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी अटाएका थिए । वर्षोत्कृष्ट महिलातर्फ मगरसँगै मनोनयनमा भलिबलकी अरुणा शाही र आर्चरीकी अनुष्का शेरचन परेका थिए ।

वर्षोत्कृष्ट खेलाडी महिला तथा पुरुषले टेलजीको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन् । उदयमाान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलसा रानाको पोल्टामा पर्‍यो । उत्कृष्ट तीन मनोनयनमा रानासँगै क्रिकेटकी ज्योत्सीका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए ।

वर्षोत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले हात पारे । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा भलिबलका केसीसँगै टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजु समावेश थिए ।

यस्तै, उत्कृष्ट खेल संघको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्‍यो । उत्कृष्ट खेल पत्रकारको अवार्ड नयाँपत्रिकाकर्मी रोहितराज पराजुलीलाई प्रदान गरिएको छ ।

उदयमान खेलाडी, वर्षोत्कृष्ट प्रशिक्षक, खेल संघ र खेल पत्रकारले अवार्डसँगै ३५ हजार रुपैयाँ हात पारेका छन् । लाइफ टाइम अचिभमेण्ट अवार्ड एथलेटिक्सकी प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिएको छ । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड प्रदान गरियो ।

प्रकाशित मिति २०८१ वैशाख २८ गते शुक्रबार ०७:५७
हजुरको प्रतिक्रिया