२०८३ असोज २५ गते आइतबार

चौंथो टाइगर कपमा १८ लाख बचत

चौंथो टाइगर कपमा १८ लाख बचत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३१ गते सोमबार ०७:१८

चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख ३७ हजार ४६४ रुपैयाँ बचत भएको छ ।

पोखरा
चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख ३७ हजार ४६४ रुपैयाँ बचत भएको छ । माघ १ देखि ६ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल भएको हो ।

प्रतियोगिताले एक करोड २१ लाख ८८ हजार ८६१ रुपैयाँ आम्दानी गरेको आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार एक करोड तीन लाख ५१ हजार ३९७ रुपैयाँ प्रतियोगिता सञ्चालनमा खर्च भएको छ । टिकट बिक्रीबाट मात्रै २२ लाख २२ हजार २२२ रुपैयाँ आम्दानी भएको हो । प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् लगायतका संघ संस्था र देशविदेशमा रहने व्यक्तिबाट सहयोग आएको थियो ।

पुरस्कारमा मात्रै १९ लाख २४ हजार ४४० रुपैयाँ खर्च भएको छ । यातायात, अवासमा नेपाली टोलीलाई १४ लाख ९५ हजार दुई सय रुपैयाँ र विदेशी टोलीलाई १६ लाख ४७ हजार ७७५ रुपैयाँ खर्चिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन आयव्यय सार्वजनिक गर्दै जानकारी गराइएको हो । महिला र पुरुषतर्फ ६/६ टोली प्रतियोगितामा सहभागी थिए । पुरुषतर्फ श्रीलंकन आर्मी टीम र महिलातर्फ हरियाणा पुलिस क्लब भारत गरेर दुई विदेशी टोली सहभागी भएका हुन् ।

चौथो टाइगर कपमा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको थियो । हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । महिलातर्फ विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गर्‍यो । एपीएफले न्यू डायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक उपाधि विजेता होे ।

प्रतियोगिताबाट बचत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष शर्माको भनाइ थियो । ‘स्वास्थ्य, शिक्षा एवम खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं’, शर्माले भने, ‘प्रतियोगिता व्यवस्थित बनाउन र खेलाडी, खेलकुद क्षेत्रको विकास गर्न छुट्टाछुट्टै अक्षयकोष बनाउने सोच बनाएका छौं ।’

प्रकाशित मिति २०८१ वैशाख ३१ गते सोमबार ०७:१८
हजुरको प्रतिक्रिया