हरिकृष्ण गौतम
म्याग्दी ।
खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
गण्डकी प्रदेशमा नयाँ प्रतिभाको खोजी र भएका खेलाडीको क्षमता तिखार्न ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित महिला भलिबल प्रशिक्षण सुरु भएको हो ।
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, म्याग्दी जिल्ला भलिबल संघको ब्यवस्थापन र जिल्ला खेलकुद विकास समिति म्याग्दीको संयोजनमा १२ दिने प्रशिक्षणको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमकाबीच शुभारम्भ गरेका छन् ।

सदस्य सचिव शर्माले खेलकुद विधामा प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न जिल्लामा प्रशिक्षण सुरू गरिएको जानकारी दिए ।
विपन्नवर्गहरुलाई समेत खेलकुद अभियानमा समेट्ने गरी टेनिश, फुटबल, भलिबल लगायतका खेलहरूको प्रशिक्षण सहित खेलाडीको पहिचान सुरू भएको बताए ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीपलाई खेलमार्फत नतिजा निकाल्ने, नयाँनयाँ प्रतिभा खोजी गरी अवसर दिने, खेलवृत्तमा गण्डकी प्रदेशको गौरव बढाउने खेलाडी तयार पार्ने योजना रहेको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेल भलिबलमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने र राष्ट्रिय टोलीमा धेरै खेलाडीको प्रतिनिधित्व हुने गरी महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्नेमा जोड दिए ।

गण्डकीमा महिला खेलाडीहरुलाई उत्प्रेरणा जगाउन थप प्रोत्साहन तथा प्रशिक्षण कार्यक्रमहरू ल्याएकोमा जिल्लाका भलिबल खेलाडी उत्साहित छन् ।

प्रशिक्षण कार्यक्रम आगामी जेठ १३ गते सम्म सञ्चालन हुने छ । प्रशिक्षणमा ८ जिल्लाका ३० महिला खेलाडीको सहभागिता छ ।

प्रकाशित मिति २०८१ जेठ ६ गते आइतबार ०९:५०



