२०८३ साउन २१ गते बिहीबार

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ८ गते मंगलबार १०:४६

थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।

 

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।

मिसन– २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार लाजिम्पाटमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोस्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।

थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।

५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् ।

भारोत्तोलन र कुस्तीमा समान ५–५ तथा एथलेटिक्समा समान ४–४ पुरुष÷महिला खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् ।

जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो ।

एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो ।

सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धीको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धी हासिल गर्न सदस्य–सचिवले चाल्नु भएको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो ।

डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।

प्रकाशित मिति २०८१ जेठ ८ गते मंगलबार १०:४६
हजुरको प्रतिक्रिया