प्रतिनिधी सभा विघटनपछि राष्ट्रिय सभामा सवैको चासो
काठमाडाैं । आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ । शुक्रबार आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो । बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन् । यसर्थ पनि यसपटकको राष्ट्रिय सभा बैठकले सवैकाे ध्यान खिचेकाे छ ।
राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ। बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन।
राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड-नेपाल समूहमा उभिएका थिए । नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य हुन्। तर उनी ओली, प्रचण्ड-नेपाल कतै पनि खुलेका छैनन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन्। तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन् । कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड-नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन् । ५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ ।
आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे आवाज उठाउने तयारीमा आफूहरू रहेको नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले बताए । नेकपाका प्रचण्ड-नेपाल समूहका एक जना राष्ट्रिय सभा सदस्यले आजको बैठकमा प्रतिनिधि सभा भंगको विषय उठान गर्ने बताए ।
सांसदहरू बोल्न खोज्ने र अध्यक्ष तिमिल्सिनाले रूलिङ गरे आजको बैठकमा जटिलता देखिनेछ । अध्यक्ष तिमिल्सिनाले अदालतमा विचाराधीन विषयमा राष्ट्रिय सभामा सदस्यहरूले बोल्न नमिल्ने यदी बोलेमा आफूले रूलिङ गर्ने बताएका छन् ।
राष्ट्रिय सभामा प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरू छन् । प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ, संसदीय दलका नेता दिनानाथ शर्मा, बेदुराम भुसाल, रामनारायण विडारीजस्ता नेता छन् । नेकपा ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल छन् । तर बादल खासै राष्ट्रिय सभामा बोल्ने गरेका छैनन्।
उपाध्यक्ष वामदेव गौतम भने नेकपाका कुनै समूहमा पनि खुलिसकेका छैनन् । उनी तटस्थ रहन खोजेकोजस्तो देखिएको छ ।
प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ११:१५




