तनहुँ । गजल सन्ध्या पोखराको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८ औँ श्रृंखला शनिवार तनहुँको दमौलीमा सम्पन्न भएको छ ।
“जीवन र जगतको यथार्थ बोधको लागि अक्षरयात्रा” भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम अक्षरयात्राको १७८ औँ श्रृंखला व्यास नगरपालिकाको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही बाटोमा हिडन मार्गनिर्देश गर्ने बलियो माध्यम भएको बताए । समाज र राष्ट्रमा व्याप्त कुसंस्कार, अनियमिता र विसंगतिलाई कलमका माध्यमबाट झक्झकाएर शासक र नीति निर्मातालाई दबाब सिर्जना गर्ने काम साहित्यकारले गर्दै आएको न्यौपानेले बताए ।
साहित्यकारले समाज, सन्दर्भ र समयको अभिन्न अंगको रुपमा योगदान पु¥याएको चर्चा गर्दै न्यौपानेले स्रष्टा सम्मान र पुरस्कारको लागि व्यास नगरपालिकाले संस्थालाई २५ हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपानेले भागवान वेदव्यासको जन्मभूमि दमौली आफैँमा साहित्यका हिसाबले उर्वर भूमि भएको बताए । व्यासको अवतरण भूमि दमौली नै हो भन्ने प्रशस्त प्रमाणहरु पौराणिक शास्त्रमा भेटिने चर्चा गर्दै न्यौपानेले सोही अनुसार आफ्ना रचना मार्फत प्रचारप्रसार गर्न साहित्यकारहरुलाई आग्रह गरे ।
सोही अवसरमा अक्षरयात्रा कार्यक्रमका परिकल्पनाकार प्रकट पंगेनी शिवले साहित्यिक पर्यटनको अवधारणाका साथ साहित्यिक अभियानका रुपमा अक्षरयात्रा कार्यक्रम सुरु गरेको बताए । देशका विभिन्न ठाँउमा पुगी सोही स्थानकै वर्णन गरी तद्स्थानमै सिर्जना भएका रचना सुनाउने र साहित्यका नव प्रतिभालाई उजागर गरी थप उत्साह थप्ने उद्देश्यले अक्षरयात्रा अभियान सुरू गरिएको पंगेनीले जानकारी दिए ।
कार्यक्रममा गण्डकी वाङमय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदासले अक्षरयात्रा कार्यक्रम दमौलीमा आयोजना भएको प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गजल सन्ध्यासँग सहकार्य गरी साहित्यिक गतिविधि अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारी र व्यास नगरपालिकाकाका शाखा अधिकृत एवम् साहित्यकार मेघराज आचार्यको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु सन्जीव पौडेल, कपिल शर्मा, मन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, दुर्गा किरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, प्रमोद थापा, माधव खतिवडा, मैँया सुवेदी, दिवाकर भट्टराई, लालमणी पोख्रेल, अनिता दाहल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, बिनोद श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए । उक्त कार्यक्रमको संचालन गजल सन्ध्याका उपाध्यक्ष बसन्त बिनोदले गरेका थिए ।
यसअघि शुक्रवार अक्षरयात्राको टोलीलाई व्यास–१० स्थित दुम्सी दरै सामुदायिक होमस्टेमा बसाईको व्यवस्थापन गरिएको कार्यक्रम संयोजक मेघराज आचार्यले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धन समेतको उद्देश्यले होमस्टेमा बसोबासको व्यवस्था गरिएको आचार्यले बताए ।
साथै शनिवार बिहान टोलीले व्यास पराशर क्षेत्र, मादी र सेतीको संगम स्थल लगायतका क्षेत्रको भ्रमण समेत गरेका थिए ।
प्रकाशित मिति २०७७ पुस १९ गते आइतबार ११:४५




