२०८३ साउन २१ गते बिहीबार

प्रचण्ड-नेपालको प्रस्ताव कांग्रेसले मानेन

प्रचण्ड-नेपालको प्रस्ताव कांग्रेसले मानेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २० गते सोमबार ०८:५७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा संयुक्त संघर्षमा जान नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले गरेको प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस र जनता समाजवादी...

एक्लै संघर्षमा जाने कांग्रेसकाे निर्णय

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा संयुक्त संघर्षमा जान नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले गरेको प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गरेको छ।

कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग मिलेर नेकपाका प्रचण्ड-नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गर्न पर्खिरहेको थियो । तर कांग्रेसले आफूहरू एक्लै संघर्षमा जाने निर्णय गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए ।

तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र एकमतका साथ प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलनमा जाने निर्णय भएको जानकारी दिए । कांग्रेसले पुस २५ गते ३३० प्रदेशसभा क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। माघ ३ र ८ गते स्थानीयस्तरमा प्रदर्शनका कार्यक्रम तय भएका छन् ।

शर्माले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेकै दिन पुस ५ मा उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक भएको ठहर पार्टीले गरिसकेकोले आन्दोलनमा गएको बताए । कांग्रेसले पुस ६ मा सर्वदलीय बैठकसमेत राखेको थियो । सर्वदलीय बैठक राखेर नेकपाका प्रचण्ड-नेपाल पक्ष र जसपासँग छलफल गरे पनि कांग्रेस एक्लै सडक संघर्षमा जाने निर्णयमा पुगेको छ ।

‘हामीले सर्वदलीय बैठक राखेर साझा धारणा बनाउन खोजेका थियौं,’ शर्माले भने, ‘तर कांग्रेसले प्रधानमन्त्री ओलीलाई मात्र नहेरेर सिंगो नेकपालाई हेर्छ। त्यसैले आफ्नै निर्णय, झण्डा, संगठनको बलबुतामा आन्दोलन गर्छ।’

नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता श्रेष्ठले सर्वदलीय बैठक र पुस १४ पछि पनि कांग्रेस र जसपासँग आफूहरूले संयुक्त रूपमा संघर्षमा जानेबारे कुराकानी गरिरहेको बताएका थिए ।

‘जसपा मुलभुत रूपमा संघर्षमा जान तयार नै छ,’ श्रेष्ठले भनेका थिए, ‘तर कांग्रेसले केन्द्रीय समितिबाट निर्णयपछि मात्रै भनेको थियो । अब आ-आफ्नो प्रकारले कार्यक्रम गर्ने र संयुक्त रूपमा प्रहार गर्ने हो ।’

प्रकाशित मिति २०७७ पुस २० गते सोमबार ०८:५७
हजुरको प्रतिक्रिया