काठमाडौं ।
आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ ।
नेदरल्यान्ड्स र नेपालबीच सन् २०१५ को जुन ३० मा पहिलो टी–२० खेल भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्स १८ रनले विजयी भएको थियो । त्यसयता टी–२० खेलमा नेपाल र नेदरल्यान्ड्स १२ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेलमा जित निकालेको छ । भने एक खेल नतिजाविहीन छ ।
विश्वकपको वार्मअप खेलमा क्यानडासँग पराजित भएको नेपाल विश्वकपमा सुखद सुरुआत गर्दै उच्च मनोबलका साथ विश्वकप खेल्न चाहन्छ । विश्वकपअघि खास प्रदर्शन गर्न नसकेको नेपालले १० वर्षपछि खेल्न लागेको विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ । सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन् ।
ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरुको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए ।
‘अमेरिका आएपछि यहाँका समर्थकको ठुलो माया पाएका छौँ । त्रिवि मैदानपछि यो मैदानमा हामीले बढी समर्थन पाउँछौ जस्तो लागेको छ । हाम्रो लागि यो अवसरसँगै जिम्मेवारी पनि हो ।’ पत्रकार सम्मेलनमा पौडेलले भने, ’हामीमाथि उत्कृष्ट क्रिकेट खेलेर उहाँहरूलाई खुसी र गर्व गर्न लायक बनाउने जिम्मेवारी छ ।’
टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।
प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार १०:१३




