२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री पाण्डे भन्छन्ः बजेट मैले बनाउँदैछु, पास कल्ले गर्छ त्यो देख्याछैन

मुख्यमन्त्री पाण्डे भन्छन्ः बजेट मैले बनाउँदैछु, पास कल्ले गर्छ त्यो देख्याछैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २२ गते मंगलबार ०७:२७

आफूसँग स्पष्ट बहुमत नभएकाले बजेट ल्याएपनि पास हुन नसक्ने बताएका छन् ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अध्यादेशमार्फत ल्याउने संकेत गरेका छन् । उनले राजनीतिक अस्थिरताको भूमरीमा बजेट परेको बताए ।

मंगलबार स्वास्थ्य निर्देशनालय पोखराले गरेको कार्यक्रममा उनले आफूसँग स्पष्ट बहुमत नभएकाले बजेट ल्याएपनि पास हुन नसक्ने बताएका छन् । निर्धारित समयमै बजेट ल्याएपनि पास गर्ने ठेगान नभएको उनको भनाइ छ ।

‘अल्पमतको सरकार चलाइरहेको छु । संविधानतः एकल ठूलोे पार्टीको संसदीय दलको नेताको बनेर मैले अहिले सरकार चलाइराख्याछु । स्पष्ट छ नांगो आँखाले हेर्दाखेरी मसँग बहुमत छैन बजेट मैले बनाउँदैछु’, उनले भने, ‘पास कल्ले गर्छ त्यो देख्याछैन । बजेट म बनाउँदैछु पास कल्ले गर्छ थाहा छैन । यो अवस्थाको राजनीतिक तरलता र अस्थिरताले हामीले संविधानमा क्रान्तिकारी बनेर लेखेको अधिकारहरुलाई सुनिश्चित गर्न सक्छौं त ?’

गत वर्ष पनि बजेटको समयमा सरकार हेरफेर भएको स्मरण गर्दै राजनीतिक अस्थिरताको असर बजेटमा परेको उनले बताए ।

पाण्डेले संघीय सरकारबाट आउने बजेट घटेको र आन्तरिक स्रोतसमेत खुम्चिएकाले बजेटको आकार घटाउनुपर्ने अवस्था आएको सुनाए । गत वर्ष ३३ अर्बको बजेट ल्याएको गण्डकी प्रदेश सरकारले यो भन्दा सानो आकारको बजेट ल्याउने मुख्यमन्त्री पाण्डेको संकेत छ ।

‘यो वर्ष पनि भूतले खाजा खाने बेला भन्या जस्तो ५० दिन हराएर यो बजेट बनाउने बेला आइपुग्याछु । यो भन्दा पहिलाको सरकारले एउटा सिलिङ तोकिसक्याछ, बाँडिपनिसक्या छ । अब उहाँहरुले बाँडेको सिलिङमा मैले आएर घटाउनुपर्ने भाछ’, मुख्यमन्त्री पाण्डेले प्रस्ट्याँउदैै भने, ‘किनभन्दा जून प्रक्षेपण सर्शत अनुदानमा, विशेष अनुदानमा, समपूरकमा आउँछ भनेर बजेटको सिलिङ पठाउनुभाको छ त्यो अनुुसार झन्डै दुई खर्ब रुपैयाँ नआउने संघ सरकारले बनाएको बजेटबाट देखियाछ । अब यी बजेट हामीले घटाउनुपर्नेछ ।’

संघले प्रदेशलाई दिने बजेट घटाएपछि प्रदेशले स्थानीय तहलाई दिने बजेट घट्ने सम्भावना रहेको उनले सुनाए ।

राजनीतिक अस्थिरताको कारण व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको पाण्डेको भनाइ थियो । दलमा राजनीतिक इमान्दारीताको कमि हुन थालेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । सबै दल सच्चिनुपर्नेमा उनको जोड छ । संविधान, व्यवस्था नै धरापमा पर्ने भएकाले सबै सचेत बनेर सहकार्य गर्नुपर्ने आवश्यकता औल्यांए ।

आधारभूत स्वास्थ्य प्रवद्र्धन गर्न सरकारले जिल्ला अस्पताल र पालिकाका अस्पतालको स्तरोन्नती प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार ०७:२७

हजुरको प्रतिक्रिया