पोखरा
फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज युएईको सामना गर्दैछ । उक्त खेल साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने बजे सुरु हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य जनाउँदै न्यूट्रल भेन्यु तय गर्न एन्फालाई पत्राचार गरेपछि अन्तिममा दुवै खेल साउदी अरबमा खेल्ने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो ।
नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।
अन्तिम दुई खेल खेल्ने टोलीमा पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान समेत टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने समावेश भएका छन् । यस्तै नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन् ।
पछिल्लो पटक इङ्गल्यान्ड भ्रमणमा रहेका दिनेश हेन्जन र फत्तेमान घले चोटका कारण टोलीमा परेका छैनन् । चोटकै कारण फरवार्ड अन्जन विष्ट पनि टोलीमा छैनन् । यस्तै चोटका कारण इङ्ल्यान्ड भ्रमण गुमाएका अनन्त तामाङ टोलीमा फर्किएका छन् ।
प्रकाशित मिति २०८१ जेठ २४ गते बिहीबार ०६:२४




