२०८३ साउन २१ गते बिहीबार

अनेरास्ववियूले गर्‍यो सरकारविरूद्ध आन्दोलन घोषणा

अनेरास्ववियूले गर्‍यो सरकारविरूद्ध आन्दोलन घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २१ गते मंगलबार ११:३४

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो...

कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका कार्यक्रम तय

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ।

अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको हो ।

पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसैगरी पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने अनेरास्ववियूले जनाएको छ ।

पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गरी २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने अनेरास्ववियूका नेता बस्नेतले जानकारी दिए ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।

 

कालापानी, लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न माग

संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।

कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने, कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति २०७७ पुस २१ गते मंगलबार ११:३४
हजुरको प्रतिक्रिया