२०८३ असोज २३ गते शुक्रबार

पोखरामा ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

पोखरामा ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २७ गते आइतबार १०:३८

पत्रकार रीना थापा  (तानी) ले कविता संग्रहमाथि समिक्षा गर्दै अवधारणापत्र प्रस्तुत गरिन् ।

पोखरा

कवि सुमिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरिएको छ । शनिबार पोखरामा यान्डम रिडर्स सोसाइटीले ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चाको चाजोपाँजो मिलाएको हो ।

पत्रकार रीना थापा  (तानी) ले कविता संग्रहमाथि समिक्षा गर्दै अवधारणापत्र प्रस्तुत गरिन् । सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको उनको समिक्षा छ ।

सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगतमा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको विश्लेषण छ । सुमिनाको कलमले केबल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको उनको भनाइ थियो ।

‘उनले महिला मात्र नभई श्रमिक र दलितको उत्पीडनलाई लेखेकी छन् । उनको वैचारिक क्रान्तिले आह्वान गर्छ स्वतन्त्रताको । उनको विद्रोहको झिल्कोले प्रश्न गरेको छ, समाजको व्यवस्था र संरचनामा, जसको पिँधमा थिचिएर बसेका छन्, वर्षौँदेखि सीमान्तकृतहरू । परिवर्तनको युग खोजेको उनको कविताले यी आवश्यक विषय समेट्ने नै भए’, उनले भनिन् ।

कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।

कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने बताए । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए ।

परिचर्चा कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए ।

‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

प्रकाशित मिति २०८१ जेठ २७ गते आइतबार १०:३८
हजुरको प्रतिक्रिया