स्याङ्जा ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थी पलायनको राष्ट्रिय समस्याप्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।
स्याङ्जास्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारण सभा, प्रवेशद्वार उद्घाटन तथा चन्दादाताहरुको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो समस्यालाई रोक्न शैक्षिक संरचनामा सुधार गर्नु आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व शिक्षा मन्त्री मेखलाल श्रेष्ठले विश्व बजारमा टिक्न सक्ने तथा नेपालमा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्ने प्राविधिक तथा व्यावसायिक विषयहरु पढ्ने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै विद्यार्थी संघ स्याङ्जाका सभापति गौरव प्रधानले कलेजमा समय अनुसारका विषयहरु थप्नुपर्ने तथा पुस्तकालय र क्यान्टिनलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको भन्दै आफूहरु सधैं विद्यार्थीको हितको पक्षमा उभिने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विद्यार्थीहरू १२ कक्षा पास गरेपछि बाहिर जाने प्रवृत्ति बढेकाले क्याम्पसहरूमा विद्यार्थीको संख्या न्यून हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व संघीय सांसद नारायण प्रसाद मरासिनी, नेकपा माओवादीका स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
करिब ५०० विद्यार्थी अध्ययनरत यो क्याम्पस समुदायको सहयोगमा सञ्चालित क्याम्पस हो ।
२०४८ सालमा स्थापना भएको क्याम्पसका अध्यक्ष पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको नेतृत्वमा महायज्ञ लगाएर संकलित पूँजीबाट क्याम्पस स्थापना भएर हालसम्म अगाडि बढेको छ ।
क्याम्पसमा मानविकी, व्यवस्थापन, कानुन, शिक्षा संकायमा स्नातक र स्नातकोत्तर तहमा पढाइ हुन्छ ।
सोही अवसरमा पुतलीबजार नगरपालिकाद्वारा विनियोजित ८ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको क्याम्पसको प्रवेशद्वारकोसमेत उद्घाटन गरिएको छ ।

oplus_2




