पाेखरा ।
अमेरिका र वेष्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपमा नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ । खेल वेष्ट इन्डिजको किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा सोमबार बिहान सवा ५ बजेदेखि सुरु हुनेछ ।
सुपर–८ को दौडबाट बाहिरिएको नेपालका लागि अर्काे चरणमा पुग्ने सम्भावना बलियो रहेको बंगलादेशसँगको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
नेपाललाई पराजित गरेमा बंगलादेशले सुपर–८ को यात्रा तय गर्नेछ । तर, बंगलादेश पराजित भएमा भने नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेलको नतिजाले सुपर–८ मा जाने टोलीको टुंग्गो लाग्नेछ ।
सिनियर टोलीमा नेपाल र बंगलादेशको भेट दोस्रो हो । यसअघि बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकपमा यी दुई टोली आमनेसामने भएका थिए । नेपाललाई दोस्रो चरणमा पुग्न त्यो समयमा बंगलादेश बाधक बनेको थियो । ३ खेल खेलेको नेपालले अफगानिस्थान र हङकङलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो ।
बंगलादेश पनि दुई खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । समान अंक रहेका नेपाल र बंगलादेश रनरेटका आधारमा बंगलादेश दोस्रो चरणमा प्रवेश गरेको थियो । समूह चरणमा बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।
नेपालले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई पराजित गर्दा १८ बलमा अविजित ३७ रन जोडेका सकिव अलि हसन जारी विश्वकपमा पनि बंगलादेशबाट खेलिरहेका छन् । नेपालले १० वर्षपछि दोस्रोपटक बंगलादेशसँग खेल्ने अवसर पाएको छ ।
जारी विश्वकपमा समान ३ खेल खेलेको बंगलादेश २ जित र एक हारसहित ४ अंकका साथ दोस्रो र दुई खेलमा हार र एक खेल नतिजाबिहीन भएको खेल १ अंकसहित चौथो स्थानमा छ । दोस्रोपटक बंगलादेशसँग भिड्न लागेको नेपाललाई १० वर्षअघिको बदला लिने अवसर छ । १० वर्षअघि बंगलादेशसँग खेलेका एक मात्र खेलाडी सोमपाल कामी अहिले नेपाली टोलीमा छन् ।
बंगलादेशका ३ खेलाडी जारी विश्वकपमा खेलिरहेका छन् । १० वर्षअघि नेपालसँग खेलेका सकिव अलि हसन, मुस्ताफिजुर रहमान महमुदुल्लाह अहिले बंगलादेशको टोलीमा छन् । अघिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध राम्रो प्रदर्शन गरेको नेपाल उच्च आत्मविश्वासका साथ मैदान उत्रिनेछ । नेपाललाई हराउँदै बंगलादेश सुपर–८ को यात्रा पक्का गर्न चाहन्छ ।
नेपालले वेष्ट इन्डिजको किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा दोस्रोपटक खेल्दैछ । बंगलादेशको कप्तानी नज्मुल हसन शान्तो र नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । शनिबार दक्षिण अफ्रिकासँग नेपालले सोही स्टेडियममा खेलेको थियो । उक्त खेलमा नेपाल १ रनले पराजित भएको थियो । सो खेलमा स्पिनर हाबी भएका थिए । नेपालका स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए ।
बंगलादेशविरुद्ध पनि नेपालले स्पिनर अट्याक गर्ने योजनामा छ । स्पिनलाई साथ दिने खालको पिच भएकाले नेपालले मजबुद स्पिनर उर्ताेने देखिन्छ ।
प्रकाशित मिति २०८१ असार २ गते आइतबार ०८:०७




