पोखरा ।
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा नवलपुरले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भएको थियो ।
स्याङजा र पर्वतबिचको खेल वर्षाले प्रभावित भएको थियो । आजै भएको दोस्रो खेलमा नवलपुरले गोरखालाई १ सय २५ रनले पराजित गरेको हो ।
दुई ओभर घटाइएको मंगलबारको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले गोरखाविरुद्ध ६ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । ओपनर प्रमिश अर्यालले ६० बलमा ८० रन बनाए । सुदिप अर्यालले २७, रिजन काफ्लेले २१ रन, दिपक डुम्रेले १० र कमल परियारले १२ रनको योगदान दिए । बलिङमा गोरखाका मेहुल श्रेष्ठले ३, प्रशिद्ध बज्रचार्यले २ र सुनिल गुरुङले १ विकेट लिए ।
जवाफी व्याटिङमा गोरखाले १५ ओभर ३ बलमा ५३ रनमा समेटियो । गोरखाका मेहुल श्रेष्ठले १२ रनको योगदान दिए । नवलपुरका पवन सापकोटा र कमल परियारले ३-३ विकेट लिए । स्विकार श्रेष्ठले २ र सुदिप अर्यालले १ विकेट हात पारे । खेलमा प्रमिश अर्याल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
नवलपुरले लगातार दुबै खेल जित्दै कुल ४ अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको छ भने गोरखा अंक विहिन छ ।
प्रकाशित मिति २०८१ असार ४ गते मंगलबार ०६:२२




