पोखरा
पोखरा महानगरपालिकाको बेरुजु ३ अर्ब नाघेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार महानगरपालिकाको बेरुजु ३ अर्ब ५ करोड ५० लाख २९ हजार पुगेको हो ।
यसअघि महानगरको बेरुजु २ अर्ब ७९ करोड थियो । तर, एक वर्षमा महानगरको बेरुजु ७९ करोड ४९ लाख ८० हजार थपिएको हो । त्यसमध्ये १७ करोड ११ लाख ४८ हजार रुपैयाँ अशुल गर्नुपर्ने देखिएको छ । भने अघिल्लो वर्षको बेरुजुमा ५३ करोड ३० लाख ६४ हजार रुपैयाँ फस्यौट भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ मा कार्यपालिकाले स्वीकृत बजेटको अधिनमा रही कुनै शीर्षकवाट वढीमा २५ प्रतिशतमा नवढाई रकमान्तर गर्न सक्ने व्यवस्था छ । तर, पोखरा महानगरले आर्थिक वर्ष २०७९/८० मा वजेटको ९ अर्व बजेटमा करिब साढे २ अर्ब विभिन्न योजनामा रकमान्तर गरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ ।
यस्तै महानगरले ६०.१६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । महानगर राजश्व संकलनमा समेत चुकेको छ । आर्थिक वर्ष २०७९।८० महानगरपालिकाले १ अर्ब ९६ करोड ३५ लाख ६८ हजार राजस्व संकलन गरेको छ । जुन एक वर्ष अघिभन्दा २५ प्रतिशत अर्थात करिब ५४ करोड कम हो । महानगरले राजस्व असुली प्रभावकारी बनाउनुपर्नेमा महालेखा परीक्षकको प्रतिवेदनले जोड दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले नगर प्रहरी सवारी चालक सयश कार्यालय सहयोगी लगायतका पदमाबाहेक अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर, महानगरपालिकाले संगठन तथा व्यवस्थापन सर्भेक्षण स्वीकृत नगरी १ सय २१ जना करार कर्मचारी स्वीकृत दरबन्दी बाहिर राखेको देखिएको छ । महानगरपालिकाले दरबन्दी बाहिर करार सेवामा कर्मचारी राखी खर्च गरेको ४ करोेड २५ लाख खर्च नियम सम्मत नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ ।
प्रकाशित मिति २०८१ असार ४ गते मंगलबार ०७:१०




