पोखरा
गण्डकी प्रदेशस्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा कास्की र स्याङ्जा आमनेसामने हुने भएका छन् ।
बुधबारको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको स्याङजाले कास्कीसँगको फाइनल भिडन्त पक्का गरेको हो । समूह ‘ए’ बाट कास्की यसअघि फाइनल पुगिसकेको थियो ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार लिग चरणको अन्तिम खेलमा नवलपुरलाई स्याङ्जाले २ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो । नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए । पहिलो ओभरमा नै २ विकेट गुमाउँदै दबाबमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट समेत रहेको यो प्रतियोगितामा विजेता टिमले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । फाइनल भिडन्त बिहीबार हुनेछ ।
प्रकाशित मिति २०८१ असार ५ गते बुधबार ०८:१३




