म्याग्दी
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
१७ औं गाउँ सभाले ५० करोड ४ लाख १३ हजार रुपैयाँको बजेट पारित भएको हो ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।
संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको छ ।
संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ, संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ, संघीय सरकारको सशर्त अनुदान २४ करोड ४ लाख ३ हजार रुपैयाँ र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ अनुमानित आय रहेको छ ।
गण्डकी प्रदेश सरकार समानिकरण अनुदानतर्फ एक करोड १८ लाख २६ हजार रुपैयाँ,राजश्व बाँडफाँडतर्फ ६४ लाख ४६ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ रहेको छ ।
जलजलाले ४ करोड २ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुँजीगततर्फ ५८ं.३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो ।
गाउँपालिका अध्यक्ष आचार्यले विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण, सडक, सिँचाई, भवन, लघुउद्यम, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
गाउँसभामा जलजला गाउँपालिका आर्थिक विद्येयक २०८१,जलजला गाउँपालिका विनियोजन विद्येयक २०८१, सुशासन समिति गठन तथा सञ्चालन विद्येयक २०८१ र समिति गठन तथा सञ्चालन विद्येयक २०८१ सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति २०८१ असार ६ गते बिहीबार ११:४७




