पोखरा
गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा भएको ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेका हुन् ।
महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो ।
उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
उपाधिसँगै च्याम्पियनद्वय कास्की र तनहुँले समान ५०/५० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको स्याङजा र कास्कीले समान ३०/३० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएका बागलुङ र स्याङजाले १५/१५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी भोषित भए । उनीहरु दुवैले समान ५/५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको थियो । पुरुषतर्फको कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङजा र पर्वतको सहभागिता रहेको थियो ।
महिलातर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर र स्याङजा सहभागी भए ।
प्रकाशित मिति २०८१ असार ९ गते आइतबार ०७:१५




