२०८३ साउन २१ गते बिहीबार

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १३ गते बिहीबार ०९:५६

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ दशमलब १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना (एनजी) फेल भएका छन् । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् भने दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

पोखरा ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईइ परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ दशमलब १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना (एनजी) फेल भएका छन् । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् भने दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

यस्तै दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।

राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति २०८१ असार १३ गते बिहीबार ०९:५६
हजुरको प्रतिक्रिया