पोखरा
गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पूरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएकोे हो । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक सपथ लिएका छन् ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । चार दिन पनि उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएनन् ।
पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही ग¥योे । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रले गरेको कारबाही विरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे । माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क)बाट निर्वाचित देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको हो ।
सात मन्त्रालय रहेकोे गण्डकीको मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री पाण्डेकोे क्याविनेट देवकोटाले सपथ खाएपछि पाँच सदस्यीय बनेकोे छ । बजेट पास गरेर राप्रपालाई पनि सरकारमा ल्याउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।
प्रकाशित मिति २०८१ असार १६ गते आइतबार ११:३७




