एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-२ गोलले पराजित गरेको हो। जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
खेलमा अग्रता भने बिल्बाओले विलियम्सको गोलबाट लियो । गार्सियाको पासमा विलियम्सले तेस्रो मिनेटमा गोल गरेर बिल्बाओलाई अग्रता दिलाए ।
खेलको १४ मिनेटमा बार्सिलोनाले गोन्जालेजको गोलबाट बराबरी गर्न सफल भयो । उनले डे जोङको पासमा गोल गरेका थिए ।
त्यसपछि कप्तान लिओनल मेसीले टिमका लागि दुई गोल गरे । मेसीले ३८ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले गोन्जालेजको पासमा गोल गरे ।
६२ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-१ गोलले अघि बढ्यो । यसपटक मेसीले ग्रिजम्यानको पासमा गोल गरे । खेलको ९० बिल्बाओका मुनियनले गोल गरे पनि टिमलाई खेलमा फर्कन ढिला भइसकेको थियो ।
जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ । १५ खेलबाट ३८ अंक जोडेको एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल म्याड्रिडको १७ खेलबाट ३६ अंक छ ।
प्रकाशित मिति २०७७ पुस २३ गते बिहीबार ०१:३४




