२०८३ असोज २३ गते शुक्रबार

पोखरामा राइड शेयरिङ निषेध गरेपछि पठाओको आपत्ति

पोखरामा राइड शेयरिङ निषेध गरेपछि पठाओको आपत्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १६ गते आइतबार ०८:०४

पोखरामा पठाओ नेपालले वैशाख १ देखि मोटरसाइकल र जेठ २४ देखि ट्याक्सीमार्फत राइड सेयरिङ व्यवसाय सुरू गरेको हो ।

पोखरा

यातायात व्यवस्था कार्यालय कास्कीले ‘राइड सेयरिङ’ एपमार्फत प्रदान गरिने सेवालाई रोक लगाएको छ । असार ७ गते सूचना जारी गरेर ‘पठाओ’ ‘इन्ड्राइभ’ जस्ता राइड शेयरिङमा रोक लगाएपछि तेस्रो दिन ट्राफिक प्रहरीले राइड शेयरिङ गर्ने २२ मोटर साइकल/स्कुटर र चार ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही ग¥यो ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सकिएपनि नियमनका लागि कार्यविधि बनेको छैन । कार्यविधि बनाउनुको सट्टा सेवा नै बन्द गराएपछि पठाओ नेपालले आपत्ति जनाएको छ । कानूनी अभ्यासलाई कार्यन्वयनमा लैजानुको सट्टा एकपक्षीयरुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाइएकोमा पठाओ नेपालको आपत्ति हो ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले यातायात व्यवस्था कार्यालयले सिधै बन्द गराउन अग्रसर हुनु उचित नभएको बताए । ‘गण्डकीमा पनि राइड शेयरिङ प्लेटफर्मलाई सहजीकरणको आवश्यकता छ’, उनले भने ।

काठमाडौँ उपत्यकामा राइड सेयरिङ सेवा दिँदै आएको पठाओविरुद्ध ५ वर्ष पहिला उच्च अदालत पाटनमा रिट दायर भएको थियो । रिटमाथिको सुनुवाइ गर्दै उच्चले सम्बन्धित निकायलाई राइड सेयरिङ प्लेटफर्म व्यवस्थित गर्नलाई आवश्यक थप कानुन तर्जुमा गर्न तथा राइड सेयरिङलाई बन्द नगर्न समेत आदेश दियो ।

फैसलामा पेसा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको पनि हक भएकोले सेवा गुणस्तरीय हुनुपर्ने उल्लेख गरेको छ । त्यसपश्चात यातायात व्यवस्था विभागले राइड सेयरिङ बन्द नगराउन २०७६ फागुन २९ गते सूचना जारी ग¥यो । तर, गण्डकीमा भने विभागको आदेश समेत नमानेर धरपकड गरिएको पठाओको आरोप छ ।

यातायात व्यवस्था विभागले राइड सेयरिङलाई सञ्चालनका लागि अनुमति दिइरहेको र अदालतले पनि बन्द नगर्नु भनेका आधारमा अहिले कम्पनी सञ्चालन भइरहेको पठाओका प्रबन्ध निर्देशक बस्न्यातले बताए । गण्डकी प्रदेश सरकारले ल्याउने जस्तो सुकै कानुन मान्न तयार रहेको बस्न्यातले प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशको पोखरामा पठाओ नेपालले वैशाख १ देखि मोटरसाइकल र जेठ २४ देखि ट्याक्सीमार्फत राइड सेयरिङ व्यवसाय सुरू गरेको हो । ३ सय ट्याक्सी र १७ सय मोटरसाइकल, स्कुटरमार्फत सेवा प्रदान गर्दै आइरहेको पठाओले जनाएको छ ।

पठाओले गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की र प्रहरीसँग समेत आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार गरेको छ ।पठाओमार्फत पोखरामा मोटरसाइकल राइडरले मासिक औषत ६० हजार र ट्याक्सीले एक लाखसम्म कमाउने गरेको उल्लेख छ ।

पठाओ नेपालले आफ्नो एप्लिकेशन प्लेटफर्मबाट कुनैपनि रुपमा सेवा दिन चाहने व्यक्तिलाई अनिवार्य रुपमा दर्ता गरि, आवश्यक जानकारी र तालिम दिई, सुरक्षित तथा भरपर्दो रुपमा एप्लिकेशनको सूचना प्रविधि संयन्त्र भित्र परिचालित हुने व्यवस्था रहेको कम्पनीको दाबी छ ।

अनलाइन राइड गर्ने सेवाग्राही र सेवा प्रदायकलाई कुनै किसिमको शारिरिक चोट, हानि, वा नोक्सानी भएको अवस्थामा बीमाको समेत व्यवस्था गरिएको जनाइएको छ ।

प्रकाशित मिति २०८१ असार १६ गते आइतबार ०८:०४
हजुरको प्रतिक्रिया