राणा शासनपछि जनताको चाहना अनुरूप काँग्रेसी प्रजातन्त्रबाट सुरु भएर जनताकै बलमा लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रा देशले भोगिसकेको र भोग्दै छ । यस बिचमा घरबारियादेखि दरबारियासम्मको उठीबास भयो भने देशको परिवर्तनको निम्ति लाखौँ जनताले बलिदानी दिनुपर्यो । बहुदल, निर्दल, पञ्चायती, जनआन्दोलन सबै किसिमको परिवर्तनको लागि तय गरेको बाटोमा जनता अचानो बने । २००७ सालदेखि २०६५ सम्मको छोटो समयमा देशले थुप्रै आरोह अवरोह भोग्दै छिटो परिवर्तनको वाहक बन्यो र फलस्वरूप देशमा गणतन्त्र आयो ।
धैर्यताको प्रतीक्षापछि जनताले लामो सास फेर्दै खुसी र सुखको यात्रा सुरु गर्नेछन् भन्ने गणतन्त्र आएपछिको आङ्कलन जीवितै छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको सुनिश्चितताविना नै आएको गणतन्त्रले लय समात्न नसक्दा परिवर्तनको वाहक जनताको थकान मेटिन नपाउँदै निराशाको पाइला चल्न थाल्यो । विभिन्न पार्टी आफ्नो आफ्नो सिद्धान्तसहित राज्य सत्ताको सदुपयोग गर्न नसक्नु र काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ सिद्धान्त एकातिर राज्य सञ्चालनको तरिका अर्कोतिर हुँदा देशले फड्को मार्न सकेन ।
परिवर्तनका वाहक बिपी, महेन्द्र, मदनका सिद्धान्त र नीतिले लय समात्न नसक्नु पनि देशको दुर्भाग्यभन्दा फरक नपर्ला । उसो त बिपी पुत्रदेखि महेन्द्र र मदनका परिवारसमेत राज्यमा राज गर्ने निकायमा हुँदा पनि तिनका सिद्धान्तले न ठाउँ पायो न त जनताले परिवर्तनको महसुस नै गर्न पाए ! केबल घटना र दुर्घटना, आन्दोलन र जनआन्दोलन, संविधान र सहिदबाहेक देश र जनताले केही पाउन सकेनन् ।
निराशाको यात्रा गरिरहेका नेपाली जनताले भूकम्पको मार, अर्थतन्त्रको चपेटासङ्गै कोरोनाको दर्दनाक घटनासङ्ग सामना गर्नुपर्यो । तथापि गणतन्त्रमा राज्य सञ्चालनमा बसेका विभिन्न पार्टीले निराशाको घाउमा थपिएको नुनमाथि मलम लगाउन नसक्दा थप पीडादायी बनेका जनताले प्रतिकार स्वरूप घण्टी बजाए ।
वैकल्पिक शक्तिहरूमध्ये सफल वैकल्पिक पार्टी बनेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । जसमा छोटो समयमै २१ सांसदसहित संसद् हल प्रवेश गरे । लामो समयदेखि राजनीति गरिरहेका पार्टीका कार्यकर्तादेखि नेतासम्मले आँकलन पनि नगरेको घटना घट्न पुग्यो । संसद् हलमा नयाँ पार्टीबाट नयाँ २१ अनुहार आइपुग्दा देशभरका जनताले अपेक्षासहितको प्रतीक्षाको सास फेरि एकपल्ट फेरे ।
रास्वपा कसरी बन्यो, कहाँबाट बन्यो र किन बन्यो भन्ने प्रश्नको जवाफ पुरानो पार्टीका नेता र कार्यकर्ताबाहेक सबैले सकारात्मक लिए । किनकि एउटा निकास देशले खोजेको बेला विभिन्न वैकल्पिक शक्ति सफल हुन नसक्दा नयाँ वैकल्पिक शक्तिले छोटो समयमा फड्को मार्दा नकारात्मकभन्दा सकारात्मक बुझाइले ठाउँ पाएको निश्चय नै हो ।
सांसदले रास्वपाको नयाँ स्वाद पाएको थियो भने संसद्मा प्रतिपक्षको भूमिकामा जुझारु, सशक्त हुँदा पुराना दलका सांसदहरूसमेत अलमल्ल बनेका थिए । रास्वपा पार्टी सङ्गठनलाई निर्माण गर्दै प्रतिपक्ष भूमिकामा अब्बल बन्दै जानुले देश विदेश पुरै चर्चा हुँदै गयो । भने अर्कोतिर पार्टीको सिद्धान्त, स्वरूपप्रति शंखा गर्दै आक्षेप पनि भोग्दै अघि बढ्नु पर्यो । विस्तारै पार्टीभित्र र पार्टीबाहिर सैद्धान्तिक बहस छलफल गर्दै संसद् हलमा प्रतिपक्षमा अब्बल हुँदै गयो भने पार्टी संरचनामा अब्बल बन्न कठिनाइको सामना खेप्दै गयो । तथापि देशभरि सबै ठाउँमा एक खालको साङ्गठनिक स्वरूप पनि तयार भयो ।
रास्वपाको सभापति रवि लामिछाने हुन् भने उपाध्यक्ष डीपी अर्याल हुन् । महामन्त्री मुकुल ढकाल छन् भने सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी छन् । रवि लामिछानेको आसा र भरोसासङ्गै सिधा कुरा जनतासङ्गको टेलिभिजन कार्यक्रमको चर्चा अनि जनताको निराशाको सासको बलले २१ सांसदसहितको राष्ट्रिय पार्टी बनेको कुरालाई जनताले स्विकारे । ठुलो दल काँग्रेस भएर पनि सत्ता समीकरणमा फेल खादा प्रचण्डले चलाएको गाडी काँग्रेसले ब्रेक लगाउन सकेन भने ओलीले गियर चलाउँदा लामिछानेले याक्सिलेटर दाबे ! र सत्ता समीकरणको हिस्सेदार बन्दै सत्ताको प्रमुख प्रमुख मन्त्रालय हात पार्न रास्वपा सफल भयो ।
सत्तामा पुरानै दलसङ्गको सझेदारिको बिचमा पनि रास्वपाले के गर्न सक्ला भन्ने एकातिर थिए भने उहीँ पुरानैसङ्ग सत्तालुप्त हुने हो भने नयाँ भनेर ढोङ फुक्नु बेकार भएको टिप्पणी गर्नेहरूको जमात पनि उत्तिकै थियो । यद्यपि सत्तामा रहँदा के चिज कहाँबाट सुरु गर्ने र कसरी अन्त्य गर्ने भन्ने रनभुलमा भने रास्वपा केन्द्रित मन्त्रालय पक्कै भएको छ । तथापि केही गर्न नसकेपनि केही नबिगारेको र बिग्रन नदिने टिप्पणी भने रास्वपा सभापतिको दाबी रहँदै आएको छ ।
इलाम क्षेत्र नम्बर २ चुनावी परिणामपछि देशभर कार्यकर्ता भेटका लागि समीक्षा यात्रा गर्न पार्टीले निणर्य गर्यो र समीक्षा यात्राको लागि निस्किए रास्वपा महामन्त्री मुकुल ढकाल । पहिलो कुरा समीक्षा यात्रा कति बेला गर्ने ?, समीक्षा यात्राको खाका कस्तो बनाउने ? र समीक्षा यात्रापछिको प्रभावबारे सामान्य ज्ञान पनि प्रयोग नगरी यात्रा तय गर्नुले सकारात्मक बन्न नसक्ने सजिलै आँकलन गर्न सकिन्थ्यो ।
तथापि मुकुल करिब १ महिनामा ३९ जिल्लाका नेता तथा कार्यकर्तासङ्ग अन्तरक्रिया गर्दै ८० किलोमिटर पैदल यात्रा गरेर ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको समीक्षा यात्रा टुङ्ग्याए । एमाले र काँग्रेसको दबदबा भएको इलाम क्षेत्र नम्बर २ मा निर्वाचनको मत परिणामबाट अनावश्यक तनाव बोकेर समीक्षा यात्राको नाममा कुद्नु नै देश र भूगोलको धरातल नबुझ्नु हो भन्दा फरक पर्दैन ।
परिवर्तन उन्मुख समाजमा राजनीतिक परिपाटी संस्कार जसरी विकास हुन पर्ने थियो त्यो हुन सकेन । फलस्वरूप त्यस्तो चपेटामा परेका थुप्रै जिल्ला मध्ये एउटा जिल्ला हो इलाम । अघिल्लो निर्वाचनमा करिब १३ सय मत प्राप्त गरेको रास्वपाले उपनिर्वाचनमा करिब ५ हजार मत प्राप्त गर्न सफल भयो । जहाँ पहिला एमालेकै नेताले जितेका थिए भने उप निर्वाचनमा पनि एमालेले नै हात पार्न सफल भयो । देशभरका केही सहर केन्द्रित जिल्लाहरूबाहेक सबै जिल्लामा जनताको शैक्षिक अवस्था, आर्थिक गुणस्तर, परिवर्तित सोच फितलो नै छ । तथापि त्यो ठाउँमा मत परिणाम बढ्नु नराम्रो भने थिएन । तर, पुराना दलको खिस्सी ट्युरी र पुराना दलको कार्यकर्ताको आक्रमणबाट अतालिएको रास्वपा भ्रममा पर्न सफल भयो । फलस्वरुप आफै सरकारमा हुँदा समीक्षा यात्रा गर्न हतारो गर्यो रास्वपाले ।
समीक्षा यात्रा ७७ जिल्लामध्ये जम्मा ३९ जिल्ला मात्र घुमेर महामन्त्री मुकुल ढकालले ‘पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ त्यस्तो आधारमा चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १/२ सिट जित्ला । भोलिका दिनहरू आजकै स्थितिमा अघि बढे पार्टीको हालत विवेकशील सरि हुनेछ’ भनेर चुकुल लगाए ।
गलत समय, गलत परिवेश, अनावश्यक यात्रा, अव्यवहारिक प्रतिवेदन तयार पारेका मुकुलको चुकुलले रास्वपालाई भारी पर्ने निश्चित जस्तै छ । समीक्षा यात्राले जनता र कार्यक्रताको बुझाई र आक्रोशलाई बुझाउँदै भावी योजना र कार्य योजना कसरी सफल हुन सकिन्छ भन्ने प्रतिवेदन पेस गर्नुपर्नेमा वितृष्णा, हास्यास्पद र धरातलविहीन प्रतिवेदन पेस गरेर मुकुल ढकालको क्षमतामा मात्र प्रश्न उठेन कि रास्वपाभित्रको आलोकाँचो पनलाई मजबुत तुल्याउने काम गरे ।
हौसिँदै जाने र हक्कानिदै आउने मुकुलको बच्पनाले मुकुलले रथ त चलाउन सक्लान् तर तीर हान्न नसक्ने प्रस्ट बनाए । खासमा यो समय सरकारमा गैसकेपछी आफ्नो मन्त्रालयले सशक्त र अब्बल भूमिकाद्वारा जनताको मन जित्ने बेला हो । जुन बेला सरकारमा बसेर राम्रो र सकारात्मक सन्देश नदिएको बेला र अन्य पार्टीले विरोध मानसिकताका साथ आरोप प्रत्यारोप गरिरहेको बेला मुकुललाई समीक्षा यात्रामा जान चुकुल खोल्नु नै रास्वपा पार्टीको यात्रामा चुकुल बन्दको सुरुवात हुनु हो ।
नयाँ र हस्तक्षेप भूमिकासहित आएको आशाको वैकल्पिक शक्तिले यस्ता कमजोरी गर्नबाट जोगिँदै जनताको हितमा सकारात्मक काम गर्दै जाने हो भने रास्वपा प्रतिको विश्वास बढ्दै जाने कुरामा दुई मत छैन किनकि रास्वपाको भविष्यको प्रश्न मात्र उठेको हो सक्किएको होइन । सरकारमा बसेर राम्रो काम गरे समीक्षा यात्रामा न कुद्नु पर्छ न कुनै स्टनबाजि नै गर्नपर्छ । जसरी आसा र भरोसामा पहिलो चोटिमा भारी मत दिएका थिए त्यसै गरी राम्रो गरे त्योभन्दा बढी मतले मजबुत सरकार बनाउन पुग्ने गरी मत दिनेछन् ।
त्यसैले यति बेला गफभन्दा बढी काम चाहिएको छ यात्रा भन्दा बढी न्याय चाहिएको छ । तर, साङ्गठनिक स्वरूपमा रहेका विभिन्न तहका पद लिएर बसेकाहरूको यस्तै भूमिका देखाउँदै जाँदा खतरा बढ्दै जाने कुरा बेलैमा रास्वपाले बुझ्न जरुरी छ । हुन त महाधिवेशनले एउटा खालको अब्बल पदाधिकारी तय त गर्ला त्योभन्दा अगाडि बनेका वडादेखि केन्द्रसम्म नेताहरूले समयमै सुझबुझका साथ अगाडि नबढे लङ्कामा सुन छ कान मेरो बुच्चै हुनुको विकल्प रहँदैन । फेरि वैकल्पिक शक्तिको लागि अर्को वैकल्पिक यात्रीको खोजी गर्नुपर्यो भने जनताले रास्वपालाई माफी गर्ने छैनन् ।
प्रकाशित मिति २०८१ असार २१ गते शुक्रबार ११:२२




