पोखरा
पर्यटकीय शहर पोखरामा साँस्कृतिक महत्व बोकेको तायाः मचा नृत्य प्रतियोगिताको तयारी सुरु भएको छ । भदौ ८ गते पोखराको नयाँबजारमा प्रतियोगिता हुनेछ ।
नेवा खलः कास्कीको आह्वानमा यसपाली नयाँबजार साँस्कृतिक समितिले प्रतियोगिता आयोजना गरेको हो । हरेक बर्ष पोखराको फरक स्थानमा तायाः मचा नृत्यको प्रतियोगिता हुँदै आइरहेको छ ।
२५० बर्ष पुरानो इतिहास बोकेको गाइजात्रा पर्वको अवसरमा मौलिक ऐतिहासिक तायाः मचा नृत्य प्रस्तुत गरिने चलन रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताए । ‘तायाः मचा पोखराको पहिचानको रुपमा प्रस्तुत हुँदै आइरहेको छ । हिजो एउटा समुदायको मात्र थियो अहिले सम्पुर्ण पोखरेलीको साझा सम्पत्ती भएको छ’, उनले भने ।तायाः मचा नृत्य धार्मिक मान्यताका हिसाबले पितृ उद्दार कार्यको रुपमा लिइन्छ ।
प्रतियोगितामा ३६ टोलिको सहभागिता रहने अनुमान छ । पुरुषतर्फको विजेताले तीन लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौंथोले क्रमशः दुई लाख एक रुपैयाँ, एक लाख एक रुपैयां र ५० हजार एक रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ५० हजार एक रुपैयाँ, दोस्रोले ३० हजार एक रुपैयाँ र तेस्रोले २० हजार एक रुपैयाँ पाउने आयोजक नयाँबजार साँस्कृतिक समितिले जानकारी दिएको छ । ४३ लाख रुपैयाँ प्रतियोगिता सम्पन्न गर्न खर्च हुने अनुमान छ ।
पुरस्कारका लागि स्वर्गीय हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा रामकाजी श्रेष्ठ, रविन्द्र, शंकर र कविन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्ने उद्घोष गरेका हुन् । गत बर्ष पोखराको रानिपौवामा प्रतियोगिया भएको थियो ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कार हस्तान्तरण गर्नलाई प्रतियोगिता गरेको बताए । २०५८ सालमा ८ वटा समूहले तायाः मचा नांच देखाउथे । अहिले बढेर ३६ समूह पुगेको छ । प्रतियोगिताले तायाः मचा नेवार बस्तीहरुमा विस्तार गर्न सघाएको पालिखेको उनको भनाइ थियो । ‘संस्कार सँस्कृतिलाई बचाउन पर्छ । यो पोखराको सम्पत्ति हो । यहाँको जस्तो विशेष अन्तको हुँदैन’, उनले भने ।
पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कार संस्कृति संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्ने बताए । पर्यटनका लागि कला सँस्कृतिको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ११:२९




