पोखरा
एसिसी महिला एसिया कप २०२४ को तयारीमा रहेको नेपाली टोली श्रीलंकामा भएको अभ्यास खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टीमसँग भएको खेलमा नेपाल ३३ रनले पराजित भएको हो ।
डेभलपमेन्ट टीमले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा डेभलपमेन्ट टीमले ११९ रन बनाएपछि खेल १५ ओभरमा झर्दा ९६ रनको लक्ष्य तय गरिएको थियो । नेपालका लागि रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रनको योगदान दिए । बलिङमा डेभलपमेन्ट टीमकी देवमी विहांगाले ३ विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको डेभलपमेन्ट टीमले ८ विकेटको गुमाउँदै ११८ रन बनाएको थियो । डेभलपमेन्ट टीमका डुलानी र नुथीयाँगाले समान २७ रन जोडे । बलिङमा नेपालका सवनम राईले ३ विकेट र राजमती ऐरीले १ विकेट लिए ।
आउँदो जुलाई १९ बाट सुरु हुने एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल समूह एमा छ । नेपालको समूहमा नेपालसहित भारत, पाकिस्तान र युएईको महिला टोली छन् । समूह बीमा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्डका महिला टोली छन् । नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।
प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार ०५:१६




