पोखरा ।
भीषण बर्षापछिको पहिरोमा पुरिएर पोखरामा ७ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१९ पुरनचौर तल्लाकोट टारीस्थित ४६ बर्षीय कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराती साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिएको हो ।
पहिरोले घर पुरिदा ४६ वर्षीय कुलबहादुर परियारसहित ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।
उनका अनुसार पहिरोमा परेर चितवन घर भइ माइती घर आएकि २० वर्षकी प्रभा परियार र उनका श्रीमान २५ वर्षका अस्मित परियारको समेत ज्यान गएको छ ।
उद्दार गर्न गएकी छिमेकी ५६ वर्षकि राधिका परियारको ज्यान गएको थापाले बताए । पहिरोमा परेर कुलबहादुरका छोरा १७ बर्षका पवन परियार र राधिकाका छोरा ३१ बर्षका कुमार परियार घाइते भएका छन् ।
दुवैको उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । अहिले दुवै जना डिस्चार्ज भएका छन् ।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।
प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार ०७:१३




