२०८३ साउन २१ गते बिहीबार

किन सुनसान छन् बागलुङका होमस्टे ?

किन सुनसान छन् बागलुङका होमस्टे ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ५ गते शनिबार ०८:०९

घरबासमा पाहुन जान छोडेपछि संचालक खेतबारीको काममा व्यस्त भएका छन् ।

बागलुङ

बर्खाले बाटो बन्द हुँदा बागलुङमा संचालित घरबास (होम–स्टे) सुनसान बनेका छन् ।

असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा घरबासमा पाहुन जान छोडेका छन् । हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनाको संख्या शून्य छ । घरबास बागलुङको ग्रामीण क्षेत्रमा बढी संचालनमा रहेका छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।

अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन घरबासमा पुग्न चाहँदैनन् । बर्खाले गर्दा घर बाससम्म पुग्ने सडक तथा पदमार्ग हिलाम्मे बनेका छन् । बर्खाले गर्दा घरबाससँगै पर्यटकीय स्थल पनि सुनसान छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुन जान छोडेपछि संचालक खेतबारीको काममा व्यस्त भएका छन् । अब सडक राम्रोसँग नचल्दासम्म गाउँमा पाहुन पुग्ने छैनन् ।

जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको अतिथी सत्कार होम–स्टे बागलुङ नगरपालिका–१० भकुण्डेका संचालक यामबहादुर थापा मगरले बताए । आन्तरिकसँगै विदेशी पर्यटकसम्म यहाँ आउने गरेको भन्दै वर्षाले सडक बिगारेपछि अहिले कोही पनि घरबासमा नआएको उनको भनाइ छ ।

काठेखोला गाउँपालिका–३ धम्जा स्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन् । बागलुङ बजारदेखि पश्चिममा पर्ने यस घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुन आउने गरेकोमा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताइन् ।

प्रकाशित मिति २०८१ साउन ५ गते शनिबार ०८:०९
हजुरको प्रतिक्रिया