पोखरा ।
श्रीलंकामा जारी महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल पाकिस्तानसंग खेल्दै छ ।
यो खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेबाट श्रीलंकाको रंगिरि दम्बुला अन्तर्राष्ट्रिय रंगशालाममा सुरु हुनेछ ।
नेपालले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी–२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो ।
सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो । उक्त खेलमा पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो ।
तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी–२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी–२० मान्यताको मात्र भएको थियो ।
२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन् ।
२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ । पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो ।
नेपाल लगातर जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा मैदान उत्रदैँ छ । नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ ।
आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन् ।
समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ग स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।
प्रकाशित मिति २०८१ साउन ६ गते आइतबार १०:४१




