स्याङ्जा ।
स्याङ्जा जिल्लामा ३९२ घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । ५ वटा बस्ती उच्च जोखिममा परेका छन् ।
गल्याङ नगरपालिकाको वडा नं ३ को लल्याङ बस्ती, आँधीखोला २ को उखुबारी र ३ को बतासेडाँडा उच्च जोखिममा छन् ।
त्यस्तै वालिङ नगरपालिकाको दलित बस्ती पनि उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थान समितिले जनाएको छ । अर्जुनचौपारी गाउँपालिकाको वडा नं ६ बोडीखोला बस्ती पनि उच्च जोखिममा परेको छ ।
आँधीखोला गाउँपालिकाको सेतीदोभान बजार क्षेत्र पनि आँधीखोला र सेतीखोलाको चपेटामा परी जोखिममा परेको छ ।
चापाकोट ३ को डाग्रेपानीस्थित चापाकोट टार सिंचाइ योजनाको मूल नहरमा पहिरोका कारण चट्टान खसी क्षतिग्रस्त भई मूल नहर अवरोध भएको छ भने गल्याङ चापाकोट सडक खण्डको ६० मिटर सडक भासिँदा आवागमन अवरुद्ध भएको छ ।
शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उल्लेखित जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने हो वा होइन सोको लागि भूगर्भविद्को अध्ययन टोली खटाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरेको समितिकी संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
सडक तथा सिंचाइ आयोजना र खानेपानी संरचनामा भएको क्षतिले पारेको समस्या सम्बोधन गर्न आवश्यकताअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गण्डकी प्रदेश तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंमा अनुरोध गरिएको प्रजिअ नेपालको भनाइ छ ।
गत असार २२ गते आएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परि स्याङ्जामा १३ जनाको मृत्यु भएको छ भने ५४ वटा पसु चौपाया मरेका छन् ।
प्रकाशित मिति २०८१ साउन ८ गते मंगलबार १०:१७




