पोखरा
यातायात व्यवसायीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय नजिकै विरोध प्रदर्शन गरेका छन् । राइड शेयरिङ सञ्चालन गर्न नदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा सवारीसहित पुगेका व्यवसायीले विरोध प्रर्दशन गरेका हुन् ।
सवारीसहित मुख्यमन्त्री कार्यालय घेराउ गर्ने योजना भएपनि प्रहरी कडाइ गरेपछि कार्यालय नजिकै नाराबाजी गरेका छन् । उनीहरुले ‘गैरकानुनी एप्स बन्द गर स्वदेशी एप्स लागु गर’, ‘सार्वजनिक यातायातलाई व्यवस्थित गर’, ‘यातायात श्रमिकलाई सम्मान गर’, लगायतका नारा चर्काएका छन् । ट्याक्सी, बस, माइक्रो लगायतका सवारी प्रर्दशनसहितको विरोधले राष्ट्रबैंकचोक हुँदै विरौटा, लेकसाइड क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

गण्डकी प्रदेशको बिहीबार (आज) बस्ने मन्त्रीपरिषद् बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुई पांग्रे र चार पांग्रे निजी सवारी साधानलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना पेश गर्न लागेको भन्दै शंशकित भएका व्यवासायीले विरोध प्रदर्शन गरेका हुन् ।
केहीबेर अगाडि उनीहरुले पत्रकार सम्मेलन गरेर ७ बुँदे माग राख्दै पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । माग सम्बोधन नभए सवारी साधान घर ग्यारेजमा थन्क्याएर साउन १३ गतेबाट लामो तथा छोटो दूरीको यातायात ठप्प पार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले बताए ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधानलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ । श्रम आयोगको तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने पौडेलको माग राखे ।
‘यातायात प्राधिकरण गठन गरी यातयात सञ्चालनको कार्यविधि तयार गर्नुपर्छ । वैज्ञानिक भाडादर समायानुकुल समायोजन हुनुप¥यो’, उनले भने । यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेसमेत माग गरिएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशिल बनाउनुपर्ने संयोजक पौडेल बताउँछन् ।
प्रकाशित मिति २०८१ साउन १० गते बिहीबार ०४:०१




