एजेन्सी । युभेन्टसले १० खेलाडीमा सिमित सासुलोलाई हराउँदै इटालियन सिरिए एको उपाधि होडमा आफूलाई कायम राखेको छ ।
वेल्सका मिडफिल्डर रामसेले ६ यार्ड टाढाबाट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने स्टपेज टाइममा गोल गर्दै रोनाल्डोले ३–१ का जीत सुनिश्चित गरे । पेड्रो ओबियाङले फेडेरिको किएसामाथि फल हानेपछि सासुलो दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।
यसअघि डानिलोले युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, सासुलोका लागि ग्रेगरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए । युभेको यो लगातार तेस्रो जीत थियो ।
जीतसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस सात अंकले पछि रहेको छ । तर, मिलानभन्दा युभेले एक खेल कम खेलेको छ ।
सासुलाेविरूद्द गाेल गरेसँगै रोनाल्डोले यो सिजन आफ्नो १५ औँ गोल गरे । यो गोल सँगै ३४ वर्षीय पोर्चुगिज खेलाडी पछिल्ला १५ सिजनमा युरोपको शीर्ष पाँच लिगमा लगातार १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००६–०७ सिजन यता रोनाल्डोले हरेक सिजन कम्तिमा १५ गोल गर्दै आइरहेका छन् ।
अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलानले तेस्रो स्थानमा रहेको एएस रोमासँग बराबरी खेल्यो ।
प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०८:३४




