पोखरा
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न चेतावनी दिएकोे छ । प्रदेश सरकारमा एमाले सामेल नभएकाले तत्काललाई दीर्घकालिन असर पर्ने कुनैपनि निर्णय नगर्न चेतावनी दिइएको हो ।
दुई दलबीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै सरकार सञ्चालन हुने हुँदा सहमति विपरित दीर्घकालिन असर पर्ने निर्णय नलिन प्रदेश समितिका सचिव धनञ्जय दवाडीले अनुरोध गरेका छन् । संघमा दुई ठूला दल नेकपा एमाले र कांग्रेसबीच सत्ता समिकरण भएको छ । सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विश्वासको मतसमेत पाइसकेको अवस्था छ ।
दुई दलका शीर्ष नेताबीच भएको सहमति अनुसार गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा एमाले सहभागी हुनुपर्ने हो । तर, दुई दलबीच तिक्तता र दूरी बढिरहेको छ । कारण, एमाले सरकारमा सहभागी नहुँदै धमाधम नियुक्ती प्रक्रिया हुनु हो । प्रदेशको नीति तथा योजना आयोगमा नेपाली कांग्रेस, नेपाल समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भागबण्डा गरेर नियुक्ती दिइएको छ । आयोगको उपाध्यक्षमा कांग्रेसकै डा. कृष्णचन्द्र देवकोटालाई दोहो¥याउँदा सदस्यमा राप्रपाबाट नवलपुरका दीपक भण्डारी र नेपाल समाजवादी पार्टीको तर्फबाट माया तिम्सिना नियुक्त भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रेस रजिष्ट्रारको नियुक्ती पनि प्रक्रिया अगाडि बढाएको छ । बुधबार १५ दिनको म्याद दिएर दरखास्त आह्वानको सूचना निकालिएको छ । एमालेको सहभागीताबिनै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले मनमौजी तरिकाले धमाधम नियुक्ती गरेपछि एमालेले चेतावनी दिँदै विज्ञप्ती निकालेको हो । गण्डकीमा संयुक्त सरकारको सहमति कार्यन्वयन नभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव दवाडीले टिप्पणी गरे । ‘संयुक्त सरकार चलाउन नेतृत्व गर्ने दलले कसरी चलाउने न्यूनतम् नम्स पालना गर्नुप¥यो । अहिले उ सरकारमा छ भनेर एकलौटी गरिरहने हो भने भोलि सरकारमा गएपछि सहमति र समन्वय त कमजोेर हुने भयो नि’, उनले भने ।
एमाले सरकारमा सहभागी हुने विषयमा प्रदेश तहबाट यथेष्ट छलफल नभएको दवाडीले बताए । ‘केन्द्रबाट टुंगो लागेको केन्द्रले निर्धारित गर्ने होला भन्ने छ’, उनले सुनाए । गण्डकीमा कांग्रेस एमालेको समिकरण पहिल्यै कांग्रेस नेतृत्वको सरकार थियो । संघमा एमाले र माओवादीबीच गठबन्धन हुदाँ गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराजले राप्रपालाई फकाएर नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटलाई फ्लोर क्रस गराएर बहुमत जुटाएको अवस्था हो । बहुमत पु¥याउनका लागि स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बागडोर दिएका छन् ।
जोरजाम गरेर बहुमत पु¥याएका मुख्यमन्त्री पाण्डेले एमालेलाई सरकारमा ल्याउन त्यति जोड गरिरहेका छैनन् । उसो त एमालले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उपहारमा उर्जा, जलस्रोेत तथा खानेपानी मन्त्रालय पाएका फणीन्द्र देवकोटा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङलाई हटाउनुपर्ने अडान राखेको छ । सकसपूर्ण अवस्थामा साथ दिएकाले दूवैलाई मुख्यमन्त्री पाण्डले हटाउन चाहान्न् । यसले पनि कांग्रेस एमालेबीच दूरी बढाएकोे हो ।
आउने शनिबारसम्म गण्डकी सरकारमा एमाले सहभागी हुने सम्भावना निकै कम छ । गत शनिबार घुँडाको उपचारका लागि भारतको दिल्ली गएका मुख्यमन्त्री पाण्डे आइतबार मात्रै पोखरा फर्कने सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार ०८:३३




