पोखरा
पुम्दीकोटमा भक्तजनको घुँइचोे लागेको छ । सोमबार पुम्दीकोटमा भगवान शिवको पुजा आराधनासहित शिवलिंगमा दुध, जल र बेलपत्र अर्पणका लागि भक्तजनको घुँइचो लागेकोे हो । पुम्दीकोटमा विशाल महादेवको मुर्तीसँगै भूमेश्वर महादेवको मन्दिर छ ।

६ हजार बढी भक्तजन सोमबार पुम्दीकोट आएकोे पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । यो वर्षको साउनमा सोमबार सबैैभन्दा बढी भक्तजन आएका हुन् । पोखरा लगायत आसपासका क्षेत्रबाट भक्तजन आएको उनको भनाइ छ । दिनभर भक्तजनका लागि पुजाअर्चनाको व्यवस्था मिलाइएको थियोे । साँझ आरती हुनेछ ।

पोखरामा आएका आन्तरिक र बाह्य पर्यटकको सर्वाधिक रोजाइमा पर्ने पुम्दीकोटमा साउनको सोमबार विशेष भक्तजनको घुँइचो लाग्दछ । अरु बेला शुक्रबार र शनिबार पर्यटकको घुँइचो लाग्ने पुम्दीकोट विकास समितिले जनाएको छ ।
पुम्दीकोट क्षेत्रको विकास गर्न २०७३ र २०७९ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट प्राप्त ९ करोड ३० लाख रुपैयाँ नगदसहित ३० रोपनी जग्गा दानमा पाएपछि विशाल महादेवको मन्दिर लगायतका संरचना निर्माण थालिएकोे हो ।

अहिलेसम्म ५१ फिट अग्लो महादेवको मूर्ती, ३१ फिट अग्लो डमरु, सुमेरु पर्वत, गंगा पोखरी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, १०८ सिंढी स्वर्गाद्वारी, शिव ताण्डव नृत्य, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा महादेव मूर्तीमा गणेशको परिक्रमा, प्रशासनिक भवन, व्यवसायिक सटर लगायतका संरचना निर्माण भइसकेको छ । चियर कार, ग्रिनरी पार्क, पार्किङस्थलको काम बाँकी रहेको छ ।
४० करोड रुपैयाँको वृहत गुरुयोजना बनाइएकोमा हालसम्म २८ करोड रुपैयाँ खर्च गरिएको हो । संघ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिरमा आउने दर्शनार्थीसँग आर्थिक संकलनको काम भइरहेको छ ।





प्रकाशित मिति २०८१ साउन २१ गते सोमबार ०६:३२




