पोखरा
गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण गरिएको छ । हेमोडायलसिस रेकर्ड मनिटरिङ सिष्टमको विकास गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको छ । बुधबार गण्डकीका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले सफ्टवेयरको सुरुवात गरे ।
मन्त्री थापाले सफ्टवेयरका माध्यमले प्रदेशमा भएका डायलासिस गर्ने विरामीको सही तथ्याङ्क दिने बताए । रिफर गर्दा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने उनको विश्वास छ ।
‘डायलासिस गर्ने विरामीको वास्तविक तथ्याङक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छुु । तथ्याङ्क अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम सघाउन पुुग्नेछ’, उनले भने । प्रदेशको डायलासिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोदविन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको बताए । उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलनसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ ।
अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । तथ्याङ्क अनुसार गण्डकीका ४१ अस्पतालको १७ युनिटबाट डायलासिस सेवा प्रवाह हुन्छ । गण्डकीमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन् ।
प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०६:३७




