२०८३ असोज २५ गते आइतबार

पोखरा–२० ले एक वर्षमा गर्‍यो ४१ लाख बढी राजस्व संकलन

पोखरा–२० ले एक वर्षमा गर्‍यो ४१ लाख बढी राजस्व संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २७ गते आइतबार ०७:४७

पोखरा महानगरपालिका वडा नम्बर २० ले गत आर्थिक वर्षमा ७८.६२ प्रतिशत खर्च गरेको छ ।

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २० ले गत आर्थिक वर्षमा ७८.६२ प्रतिशत खर्च गरेको छ । वडा कार्यालयले सार्वजनिक सुनुवाई गर्दै आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८८ लाख बजेटमध्ये १ करोड ४८ लाख ४१ हजार ७४२ रुपैयाँ अर्थात ७८.६२ प्रतिशत खर्च भएको जनाएको छ ।

उक्त आर्थिक वर्षमा वडामा ४१ लाख ६३ हजार ९२० रुपैयाँ राजस्व संकलन भएको वडासचिव हरिकृष्ण आचार्यले जानकारी दिए । सम्पत्ति भूमिकरतर्फ २० लाख ३९ हजार ३१४ र सिफारिसतर्फ २१ लाख २४ हजार ६३५ रुपैयाँ राजस्व संकलन भएको हो । सामाजिक सुरक्षा भत्तामा ३ करोड २५ लाख २६ हजार ७४८ खर्च भएको वडासचिव आचार्यले बताए ।

चालु आर्थिक वर्षमा वडाबाट ३३ योजना स्वीकृत भएका छन् । त्यसमा एक करोड ५९ लाख १७ हजार छुट्टिएको छ । महानगरबाट १४ योजनामा २ करोड ५१ लाख रुपैयाँ विनियोजन भएको वडा कार्यालयले जनाएको छ ।

पब्लिक फोरके टेलिभिजनको सहकार्यमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले वडाले सञ्चालन हुने कार्यक्रममा वडाबासीलाई जानकारी नहुने गरेको बताएका छन् । सहभागी माया तिमल्सिनाले वडाको कार्यक्रममा वडाबासीसँगै वडा सदस्य पनि बेखबर हुने गरेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सभापति दीपेश पौडेलले वडाध्यक्षले बाचा गरेको कामहरु पुरा नगरेको आरोप लगाए । उनले चोकचोकमा सिसिटिभिदेखि प्रहरी विट राख्ने जस्ता कामहरु वडाध्यक्षले पूरा गर्न नसकेको बताए । पृथ्वीनारायण क्याम्पसबाट एक्वारसम्म आउने पुल वडाका लागि नितान्त आवश्यक रहेको र पहल गर्न माग गरे । रामजी खत्रीले जनप्रतिनिधि भएको महशुस हुनेगरी काम गर्न आग्रहसमेत गरे ।

वडाध्यक्ष गंगाबहादुर खत्रीले पृथ्वीनारायण क्याम्पसले जग्गा उपलब्ध नगराएकोले पुल निर्माण हुन नसकेको बताए । पुल बने वडाबासीलाई धेरै सहज हुने उनले बताए । ९ वटा वडाध्यक्ष बसेर दबाब दिने भनेपनि मेयर सकारात्मक नभएको आरोप लगाए ।

प्रकाशित मिति २०८१ साउन २७ गते आइतबार ०७:४७
हजुरको प्रतिक्रिया