२०८३ साउन २१ गते बिहीबार

नेपाल लिग च्याम्पियन चर्च ब्वाइज पारो एफसीसँग पराजित

नेपाल लिग च्याम्पियन चर्च ब्वाइज पारो एफसीसँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २९ गते मंगलबार ०८:१८

चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको प्लेअफमा मंगलवार अग्रता जोगाउन नसक्दा हार व्यहोरेको छ ।

काठमाडौं
चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको प्लेअफमा मंगलवार अग्रता जोगाउन नसक्दा हार व्यहोरेको छ ।

भारी वर्षाका कारण पूर्णरूपमा हिलाम्मे भएको दशरथ रंगशालामा भूटानी लिग च्याम्पियन पारो एफसीले घरेलु टोली चर्च ब्वाइजलाई २–१ ले हराएको हो । पारोको जितमा किंग्मा वांगचुक र विलियम ओपोकुले गोल गरे । चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गोल गरेका थिए । खेलको नवौं मिनेटमा पारोले खेलमा अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन । विलियम्स ओपोकुको प्रहार दोस्रो बारमा ठोकिँदा पाराले ३१ औं मिनेटमा अर्को अवसर गुमायो । डिबक्सभन्दा केही बाहिर केइसुके होन्डाको फ्रिकिक प्रहार दोस्रो बारमा लागेर फर्कियो ।

लगत्तै त्यो बल चर्चब्वाइजका कप्तान अनन्त तामांगले क्लियर गर्दै संकट टारे । ३७ औं मिनेटमा चर्च ब्वाइजले आशालाग्दो अवसर बनाए पनि सदुपयोग हुन सकेन । त्यसको दुई मिनेटपछि भने चर्च ब्वाइजले सफलता पायो । चर्च ब्वाइजको मिडफिल्डर लाकेन लिम्बूले सहजै गोल गरे । मोसेस ग्याबाले पेनील्टी बक्सबाटै दिएको सुन्दर पासमा अनमार्क रहेका लाकेनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका हुन् । ४० औं मिनेटमा नै पारोले गोल फर्कायो । किंगा वान्गचुकले चर्च ब्वाइजका गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा खोली पोस्टमै गोल गरे । पहिलो हाफको अन्तिम समयमा चर्च ब्वाइजको लामो दूरीबाट भएको प्रहारले सफलता पाउन सकेन । पहिलो हाफमा दुवै टोलीले १–१ को बराबरीमा टुंग्यायो ।

४६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले अग्रता बनाउने अवसर सदुयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाटै अन्जन विष्टको प्रहार पारोको गोलकिपर मिलोस सुपिचले बचाए पनि प्राप्त रिबाउण्डलाई एरिक पेनाल्टी बक्सबाटै गोल गर्न चुकेका हुन् । प्रहार गर्नै लाग्दा उनी चिप्लन पुगे । ५२ औं मिनेटमा होन्डाको प्रहार चर्च ब्वाइजका गोलकिपर दीपले रोक्दै टोलीको संकट टारे । एक मिनेट लगत्तै चर्च ब्वाइजका मोसेसको लामो प्रहार पारोका गोलकिपर सुपिचले पन्च गर्दै असफल पारे । ५६ औं मिनेटमा मिनेटमा चर्च ब्वाइजका सनीषा श्रेष्ठको प्रहार पारोका गोलकिपर सुपिचले मुस्किलले बचाए ।

६७ औं मिनेटमा पारोले ओपोकुको गोलबाट अग्रता लियो । पारोको गोलकिपरले मध्य भागबाट गरेको पास चर्च ब्वाइजका ओमोलाजा करिमले क्लियर गर्न नसक्दा त्यो बल खोस्दै ओपोकुले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर दीपले पत्तै पाएनन् । ७६ औं मिनेटमा होन्डाको पासमा ओपोकुको लामो दूरीबाट भएको सशक्त प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो ।

८३ औं मिनेटमा चर्च ब्वाइजको खेलमा फर्कने सुन्दर अवसर गुम्यो । सञ्जीव विष्टले पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको सशक्त प्रहार पारोका गोलकिपर सुपिचले उत्कृष्ट बचाउ गरे । चर्च ब्वाइजले ८९ औं मिनेटमा बुनेको काउन्टर प्रयास पनि सफल भएन । काउन्टरमा मोसेसले पेनाल्टी बक्सबाट गरेको प्रहार माथिल्लो बारमाथि बाट बाहिरिन पुग्यो । खेलको अतिरिक्त समयमा पनि मोसेसको हेडर असफल भएपछि चर्च ब्वाइजले २–१ ले हार सामाना ग¥यो । यससककंगै पारोले गत सिजन नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लवसँग व्यहोरेको हारको बदला लियो ।

प्रकाशित मिति २०८१ साउन २९ गते मंगलबार ०८:१८
हजुरको प्रतिक्रिया