पोखरा ।
साफ यू–२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ ।
प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने चर्च ब्वाइजसँग ३ वटा अभ्यास खेल खेलेको थियो ।
घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–२० उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन ।
हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन् ।
प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन् ।
नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ ।
च्याम्पियनसिपको फाइनल भने भदौ १२ गते हुने तालिका छ ।
प्रकाशित मिति २०८१ भदौ २ गते आइतबार ०९:४४




