२०८३ साउन २१ गते बिहीबार

मगर चलचित्र ‘दिलसरा’ को पोखरामा भव्य प्रदर्शन

मगर चलचित्र ‘दिलसरा’ को पोखरामा भव्य प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ३ गते सोमबार ०८:५६

महिला सशक्तीकरण र मगर समुदायमा भएको संस्कृति, संस्कार, चालचलनलाई आधार बनाएर निर्माण भएको मगर चलचित्र ‘दिलसरा’ पोखरामा भव्य रुपमा प्रदर्शन भएको छ ।

पोखरा ।
महिला सशक्तीकरण र मगर समुदायमा भएको संस्कृति, संस्कार, चालचलनलाई आधार बनाएर निर्माण भएको मगर चलचित्र ‘दिलसरा’ पोखरामा भव्य रुपमा प्रदर्शन भएको छ । सोमबार पोखरामा रहेको सभागृह हलमा चलचित्र प्रदर्शन भएको हो । करिब १६ सय जनाको सिट क्षमता भएको हलमा आज बिहान ११ बजे एकपटक मात्रै चलचित्र प्रदर्शन गर्ने निर्माण टिमको योजना भए पनि दर्शकको चापले गर्दा आजै दिउँसो ३ बजे दोस्रो पटक चलचित्र प्रदर्शन भएको छ ।

चलचित्रका निर्माता हर्क आले मगरले चलचित्र हेर्न दर्शक ओइरिएको देख्दा आफू पुलुकित भएको बताए । मगर समुदायलाई समेटेर नारी सशक्तीकरणलाई स्थान दिँदै चलचित्र निर्माण गरेको बताउँदै दर्शकको भीड देख्दा आफूहरुको कोसिस धेरै हदसम्म सफल भएको बताए । ‘यति धेरै दर्शक आइदिनुभयो कि पहिलो शोमा दर्शक नअटेपछि दोस्रो शोको घोषणा गर्नुप¥यो, दोस्रो शोमा पनि सोचेभन्दा भीड भयो ।’ उनले भने, ‘चललचित्रप्रति यहाँहरुको मायाले हामीलाई भावुक बनाएको छ, दर्शकको भावनालाई बुझ्न सकेछौं भन्ने लागेको छ ।’

मगर समुदायको चलचित्र भनिएपनि अन्य समुदायलाई समेत चलचित्र अवलोकनका लागि उनले आग्रह गरे । चलचित्रमा भाषा राखिएको ठाउँमा सबटाइटल राखिएको र सबैले बुझ्ने किसिमको चलचित्र बनेको उनको भनाई छ । यस्तै चलचित्रकी कथाकार तथा निर्माता मध्येकी एक जुना थापा मगरले चलचित्रप्रति दर्शकको मायाले आफूहरुलाई यो क्षेत्रमा अझै प्रयास गर्ने हौसला मिलेको बताइन् । चलचित्रका रुपमा आफूहरुले परीक्षा दिएको र दर्शक आइरिएको देख्दा उक्त परीक्षामा उत्कृष्ट भएको आफूले अनुभव गरेको उनले बताइन् ।

मगर समुदायसंग आधारित चलचित्र नारी प्रधान चलचित्र हो । यो चलचित्रमा चलचित्रकी मुख्य नायिका दिलसराले घरपरिवार समाजसंग गर्नुपरेको संघर्षलाई चित्रण गरिएको छ । फुपु चेला र मामा चेलीको हक लाग्ने समुदायमा कतिपय कुरीतिले गर्दा कसैको परिवार कतिसम्म तहसनहस हुन सक्छ र विषेश गरेर महिलाले केकस्ता समस्या भोग्नुपर्छ भन्ने चलचित्रले पर्दामार्फत् देखाउन खोजेको छ । मगर समुदायमा भएको कतिपय कुरीतिलाई समय र परिस्थिति अनुसार परिर्वतन गर्नुपर्छ भन्ने सन्देश चलचित्रमार्फत् आफूहरुले दिन खोजेको चलचित्रकी अर्की निर्माता तथा पटकथाकार मीना थापामगरले बताइन् । ‘समुदायगत रुपमा केही कुरीति होलान्, त्यसले कतिको जीवनमा असर गर्छ र नारी सशक्तीकरण कति आवश्यक छ भन्ने चलचित्रमार्फत् हामीले देखाउन खोजेको हौं ।’ उनले भनिन् ।

आदिवासी जनजाति पत्रकार महासंगका इन्चार्ज एमबी आस्था मगरले फोनिज समुदायगत चलचित्रमा केही त्रुटि भएपनि सबै पक्षमा ‘दिलसरा’ उत्कृष्ट चलचित्र बनेको बताए । कथा र विषयवस्तु अनुसार चलचित्र ‘दिलसरा’ मा कलाकारको अभिनयले सुनमा सुगन्ध थपेको उनको भनाई छ । त्यस्तै नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा मगरले दर्शकको भीड भएपछि आफूले पहिलो पटकको शोमा चलचित्र हेर्न नपाएको बताउँदै सोचेको भन्दा राम्रो चलचित्र बनेको बताए । ‘दर्शकको भीड यति धेरै होला भन्ने सोचेकै थिइन मैले, यहाँ हाम्रो समुदाय मात्रै होइन, बाहिरी समुदायका व्यक्तिको पनि उपस्थिति त्यतिकै पाएँ ।’ उनले भने, ‘आफ्नो समुदायको भएपछि मगरहरुले त चलचित्रलाई राम्रै प्रतिक्रिया देलान्, तर अन्य समुदायको व्यक्तिको मुखबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएँ, यो गौरवको विषय हो ।’

पोखरामा भव्य रुपमा प्रदर्शन भएपछि चलचित्रको टिमले देशका अन्य जिल्लामा समेत प्रदर्शन गर्ने सोच बनाएको छ । ‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ मार्फत् निर्माण भएको यो चलचित्रलाई अशोक आले मगरले निर्देशन गरेका हुन् । त्यस्तै चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर हुन् । त्यस्तै चलचित्रको कथाकारका रुपमा जुना थापा मगर र पटकथा मीना थापा मगरको रहेको छ । यी दुवै जनासहित चलचित्रलाई हर्क आले मगरले निर्माण गरेका हुन् । केशव आले मगरको नृत्य निर्देशन रहेको चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर ९खबपु० भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर र ओम श्रीष मगरको अभिनय रहेको छ

प्रकाशित मिति २०८१ भदौ ३ गते सोमबार ०८:५६
हजुरको प्रतिक्रिया