२०८३ साउन २१ गते बिहीबार

मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस् : अर्थमन्त्री पौडेल

मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस् : अर्थमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १०:४४

उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गरका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गरे ।

उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

अहिलेको संसदबाट बनेको पछिल्लो सरकार सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको उनको भनाइ थियो ।

उनले भने, ‘मन्त्रीलाई एउटा अफ्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ? म यहाँहरुसँग के राख्न चाहन्छु भने मन्त्रीज्युहरुलाई भाषण होइन काम गर भनेर यहाँहरु सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका संगठनहरु छन्, यहाँहरु महत्वकासाथ बोलाउनु हुन्छ, नआउँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतित हुन्छ । त्यसैले विशेष गरी छाता संगठनका साथीहरु हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नैपर्ने, बुझ्नैपर्ने, गर्नैपर्ने कामका लागि सुझाव दिन अरु कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरु समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि उल्लेख गरे । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उनले बताए ।

अर्थतन्त्रका सबै सूत्रहरुमा यथेष्ठ अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १०:४४
हजुरको प्रतिक्रिया