पोखरा ।
पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता यो वर्ष पनि हुने भएको छ ।
नव आदर्श सामुदायिक समाज स्थापनाको २८औँ वार्षिकोत्सव एवं २६औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही भाद्र १९ गतेदेखि २१ गतेसम्म हुने भएको समाजले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा पोखराको लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताका लागी पत्राचार गरिएको समाजका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिवल क्लबलाई सहभागीताको लागी आमन्त्रण गरिएको भण्डारीले बताए ।
महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष स्वागसिंह भण्डारीले बताए ।
समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ ।
प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार ११:३५




